वर्षातको कारण मेलम्चीको पाइप विच्छ्याउँने काम अन्तिम समयमा रोकियो, सुरुङ पनि जम्मा २ किमीमात्रै खन्न बाँकी

  २०७४ साउन १७ गते ७:००     विकासन्युज

काठमाडौं । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ।

सडक हिलो हुने भएकाले रोकियो

वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए।

‘वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो। यो बिछ्याउने काम अहिले रोकिएको छ,’ उनले भने, ‘लगातार पानी परेको छ। सडक खन्दा हिलो हुन्छ। सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो।’

६१० किमि पाइप बिछ्याइसकियो

पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ। ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ। वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ। मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने।

२ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी

मेलम्ची खानेपानीको सुरुङ खन्न अब २।३ किमि मात्रै बाँकी छ। खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको छ। सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ। यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ। ‘सुरुङ खन्ने काम रोकिएको छैन। अब २।३ किमि सुरुङ खन्न बाँकी छ। अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ। ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ। त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’

ठूलो पाइप बिछ्याउन अब दुई किमि मात्रै बाँकी

पिआइडीले थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन। ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ। नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ। त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ। ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन। पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ। भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने। पिआइडीका अनुसार थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ। नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.