२५ प्रतिशत बोनस सेयर घोषणापछि प्राइम लाइफको सेयर मूल्य घट्यो, हकप्रद सेयर लगत्तै आउने

  २०७४ साउन १५ गते १५:५४     मञ्जरी पौडेल

काठमाडौं । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा करिब ६ प्रतिशतले गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता २८९५ मा कारोबार भएको यस कम्पनीको सेयर प्रतिकित्ता २७२४ रुपैयाँमा किनबेच भयो ।

साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो, जुन निर्णय आईतबार सार्वजनिक भएको हो ।

हाल कम्पनीले चुक्ता पूँजी ४८ करोड ८१ लाख छ । बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ हुनेछ ।

कम्पनीले ४ वर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । सेयरधनीले अपेक्षा गरेको भन्दा कम बोनस सेयर घोषणा भएकाले मूल्य घटेको हुन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको भनाई छ ।

बोनस सेयरसँगै हकप्रद सेयरको घोषणा नभएकोले पनि मूल्यमा गिरावट आएको हुन सक्ने उनले बताए । ‘हकप्रद सेयर घोषणा भएको छैन, तर आगामी साधारणसभामा हकप्रद सेयरको प्रस्ताव लैजान्छौ । हकप्रद र बोनस सेयरबाट नै २ अर्ब चुक्ता पुँजी पुर्याउने हो’ उनले भने । २०७५ असारभित्रै २ अर्ब पुँजी पुर्याउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.