८ लाखको लागतमा मिडिया सेन्टर सञ्चालन

  २०७४ असार २९ गते १०:५४     विकासन्युज

पोखरा । नेपाल पत्रकार महासङ्घ, कास्कीको भवनमा ८ लाखको लागतमा सुविधा सम्पन्न मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो सेन्टरमा ९ वटा कम्प्युटर, फोटो कपि मेसिन, स्क्यानर, प्रोजेक्टर लगायतका विभिन्न सामग्री रहेका छन् ।

सो नव निर्मित मिडिया सेन्टर र तालिम कक्षको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महानगरले सक्दो सहयोग गर्ने बताए । मिडिया सेन्टरको भरपुर उपयोग हुनुपर्ने बताउँदै उनले भने, “महानगरले पत्रकार उपचार कोषका लागि पनि सोच बनाएको छ ।”

महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक र कुसुम केशव पराजुली लगायतले पत्रकारिता क्षेत्रको विकासमा मिडिया सेन्टर कोसेढुङ्गा साबित हुने बताए ।

महानगरपालिकाका दुई दर्जनभन्दा बढी रेडियो, एक दर्जन दैनिक पत्रिका, चारवटा टेलिभिजन लगायत दर्जनौँ साप्ताहिक, पाक्षिक र मासिक पत्रिका सञ्चालन हुँदै आएको पत्रकार महासङ्घ कास्कीका पूर्व सभापति पुण्य पौडेलले जानकारी दिए । पत्रकार महासङ्घमा हालसम्म ३१० जना सदस्य रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.