भारतमा जीएसटीः जोखिममा नेपाली अर्थतन्त्र- कर विज्ञ डा. चन्द्रमणि अधिकारीको विश्लेषण

  २०७४ असार २१ गते १४:०३     डा. चन्द्रमणि अधिकारी

भारतमा एकिकृत कर प्रणाली जीएसटी लागु गरिएको छ । यो कर नयाँ होइन र भारतले पनि लामो तयारी गरेपछि मात्रै एकिकृत कर प्रणाली कार्यान्वयनमा ल्याएको हो । जीएसटी भनेको उपभोग करको सुधारिएको रुप मात्रै हो । भारतले सन २००३ बाटै जीएसटी कार्यान्वयनका लागि तयारी सुरु गरेको थियो ।
विजय केलकर नामका कर विज्ञको नेतृत्वमा समिति बनाएर अध्ययन गर्यो । समितिले जीएसटी लागु गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि तत्कालिन अर्थमन्त्रीको नेतृत्वमा तयारी समिति बनाइयो । सन २०१० मै संबिधान संसोधन गरेर जीएसटी लगाउने तयारी गरिएको थियो । तर त्यसबेला सम्भव भएन् । त्यसपछि अधिकार सम्पन्न जीएसटी काउन्सिल बनाएर संरचना निर्माण र दर तोक्ने जिम्मेवारी दिईयो । त्यसकै सुझावका आधारमा सन २०१६ मा लागु गर्न खोजिएको थियो ।

डा. चन्द्रमणि अधिकारी

अहिले भने केन्द्र र राज्य सरकारहरुले संकलन गर्दै आएका डेढ दर्जन भन्दा धेरै करहरुलाई खारेज गर्दै जीएसटी लागु गरिएको हो । जीएसटीले न्युनतम ५ देखि २८ प्रतिशतको करका दर तोकेको छ । तल्लो वर्गका जनताको आधारभुत आवश्यकतासँग जोडिएका वस्तुहरुलाई कर छुट दिईएको छ । त्यस बाहेक बिभिन्न बस्तुहरुलाई गुण र उपयोग हेरेर करका दर निर्धारण गरिएको छ ।

जोखिम मुक्त छैन नेपाली अर्थतन्त्र
भारतमा लागु गरिएको जीएसटीबाट नेपाली अर्थतन्त्र जोखिम मुक्त छैन् । जीएसटीले भारतीय उद्योगहरुको उत्पादन लागत घटाउँछ । जसले गर्दा भारतमा उत्पादित वस्तुहरुको बजार मूल्य घट्छ । नेपालको सबै भन्दा ठुलो व्यापारिक साँझेदार मुलुक भारतको उत्पादन लागत घट्ने र बजार मुल्य कम हुने वित्तिकै नेपालको आयात अझै वृद्धि हुन्छ । यसको सिधा अर्थ भनेको नेपालको भारतसँगको व्यापार घाटा अझै बढ्दै जानेछ । वास्तवमा भारतले लागु गरेको जीएसटीको नेपालमा पर्ने प्रभावबारे सरकारले तत्कालै अध्ययन गर्नु आवश्यक छ ।

मेरो विचारमा जीएसटीको नेपालमा निम्न प्रभाव पर्न सक्छन् ।
१) भारतमा उत्पादन लागत घटेपछि बजारमा वस्तु तथा सेवाको मूल्य पनि घट्छ जसले नेपालको आयात बढाउँछ । यसको अर्थ नेपालको भारतसँगको व्यापार घाटा अझै वृद्धि हुँदै जानेछ ।
२) भारतीय समानको मूल्य घटेपछि नेपाली उद्योगहरुको प्रतिष्पर्धी क्षमता घट्नेछ । जुन नेपाली औद्योगीक क्षेत्रका लागि नकारात्मक पाटो हो ।
३) भारतमा समान सस्तो हुने र नेपालको भन्सार दर महंगो हुने भएपछि चौरी पैठारी गरेर भारतीय सामान नेपाल भित्रिने क्रम बढ्नेछ ।
४) नेपालले भारतमा निर्यात गर्ने वस्तुहरु भारतमै सस्तो हुन थालेपछि नेपालको भारत निर्यात पनि घट्दै जानेछ ।
५) सिमा पारि समान सस्तो हुने र वारी महंगो हुने भएपछि नेपाली भएकै कारण महंगोमा समान किन्नुपर्ने बाध्यताका कारण सिमावर्ति क्षेत्रका जनताहरुको सरकार प्रतिको आक्रोश बढ्नेछ ।

सरकारलाई सुझावः
नेपालबाट भारतमा के के निर्यात भैरहेका छन् ? भारतबाट नेपालमा के के आयात भैरहेका छन् ? तत्कालै अध्ययन गर्नु आवश्यक छ । सरकारले आयात/निर्यात नीतिमै पुनरावलोकन गर्नु पर्छ । भन्सारका दरहरुको पुनरावलोकन गर्नुपर्छ । तत्काल अध्ययन समिति गठन गरेर काम गर्नु पर्छ । किनकी दुई तिहाई वैदेशिक व्यापार हुने मुलुकमा करको दरमा आएको भारी परिवर्तनले नेपाली अर्थतन्त्रलाई जोखिममुक्त रहन दिनेछैन् ।(बरिष्ठ कर विज्ञ डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.