पुरानो कम्पनी खारेज गर्दै हुनुहुन्छ ? जम्मा गर्नुस् यी कागज पत्र

  २०७४ जेठ ४ गते १६:४५     विकासन्युज

काठमाडौं । कम्पनी ऐनको पहिलो संसोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको शुन्य दशमलब ५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएको छ । संसोधन विधेयकमा राष्ट्रपतिले लालमोहर समेत लगाईसकेकी छिन् । करिब ८० हजार पुराना कम्पनी दर्ता मात्रै भएर बसेका कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकले देखाउँछ ।

अब यी ८० हजार कम्पनीका सञ्चालकहरुले आफ्नो कम्पनीको चुक्ता पुँजीको शुन्य दशमलब ५ प्रतिशत शुल्क बुझाएर कम्पनी बन्द गर्न सक्नेछन् । तर त्यसरी कम्पनी बन्द गर्नु अघि केहि कागजात भने अनिवार्य रुपमा जम्मा गर्नुपर्नेछ ।

कम्पनी रजिष्ट्रार प्रेम कुमार श्रेष्ठका अनुसार पुराना कम्पनी बन्द गर्न चाहनेहरुले जम्मा गर्नुपर्ने कागजातहरु यस्ता छन् ।

१) कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी बन्द गराउन चाहनेहरुका लागि तयार पारेको आवेदन फारम भर्नु पर्नेछ । हाल आवेदन फारमको नमुना उद्योग मन्त्रालय पुगेको छ र मन्त्रि परिषदले पास गरेपछि राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनेछ ।
२) कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट
३) लेखा परिक्षण प्रतिवेदन
४) कर चुक्ताको प्रमाण पत्र
५) अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र

रजिष्ट्रार श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेका कम्पनीहरुले पनि शुन्य दशमलब ५ प्रतिशत शुल्क तिरेर खारेजी प्रक्रियामा सामेल हुन पाउनेछन् । करिब ८० हजार पुराना कम्पनी खारेजीमा जान सक्ने अनुमान गरिएको पनि श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.