१० महिनामा साढे ४७ प्रतिशत खर्च, दैनिक आठ अर्ब ४७ करोड खर्चनु पर्ने चुनौति

  २०७४ वैशाख २५ गते १३:३२     विकासन्युज

महालेखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० दशमलव ३६ मात्र पुँजीगत खर्च भएको छ । कुल बजेटको ४७ दशमलव ४६ प्रतिशत खर्च भएपनि पुँजीगत खर्च भने जम्मा ९४ अर्ब ६९ करोडमात्र खर्च भएको हो । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो । तर, यो अवधिमा आइपुग्दा ४ खर्ब ५१ अर्ब ६९ करोडमात्र खर्च भएको छ । अब दुई महिनाको अवधिमा सरकारले कुल बजेटको ५२ प्रतिशतभन्दा माथि खर्च गर्नुपर्ने देखिएको छ ।

यसरी हालसम्म भएको खर्चलाई हेर्ने हो भने अबको वाँकी ६५ दिनमा ५ खर्ब ५१ अर्ब ८ करोड अर्थात दैनिक ८ अर्ब ४७ करोड खर्च गर्नुपर्ने देखिन्छ । ठूला पुँजी विनियोजन भए परियोजनामा खर्च हुन नसक्दा सरकारलाई समय सीमाभित्र विनियोजित बजेट खर्च गर्ने चुनौती थपिएको हो । काठमाडौं तराई–मधेस दु्रतमार्गका लागि चालु आवमा १० अर्ब रुपैयाँ विनियोजन गरेपनि दोसौ चौमाससम्म जम्मा ६ प्रतिशतमात्र खर्च खर्च भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामा लागि साढे एक अर्ब छुट्याएकोमा करिब २ प्रतिशतमात्र खर्चिएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको कुनै काम अघि बढ्न सकेको छैन ।

पुँजीगत खर्च हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री कृष्णवहादुर महराले असार मसान्तसम्म जसरी पनि ८० प्रतिशत पुँजीगत खर्च सबै विकासे मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।

विकासे मन्त्रालयहरूले वाँकी दिनमा युद्धस्तरमा काम गरेर खर्च बढाउन निर्देशन दिइसकेका छन् । साथै उनले यस वर्ष ४० प्रतिशत खर्च कटाउन नसक्ने विकासे आयोजन अर्को वर्षदेखि बजेट नदिने बताएका छन् । अर्थ मन्त्रालयले विभिन्न चरणमा विकासे मन्त्रालयका सचिवहरूसँगको छलफलमा वैशाखसम्म ८० प्रतिशत प्ँजीगत खर्च गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुल पुँजीगत खर्च ३ खर्ब ११ अर्बको एक तिहाइ पनि हुन सकेको छैन । हुनत नेपालमा आवको अन्तिम दुई महिनामा ६० प्रतिशतभन्दा बढी खर्च गर्ने परिपाठी छ । अझ यस वर्ष त बजेटपछि आएको नयाँ सरकारले आफूले काम गरेको देखाउन तथा पुँजी खर्च बढाउन अन्धाधुन्दा खुद्रे आयोजनामा रकम विनियोजन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.