भक्तपुरमा भेटियो हालसम्मकै ठूलो ग्यास भण्डार, ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न मन्त्रीको निर्देशन

  २०७४ वैशाख ७ गते १६:३७     नारायण पौडेल

फोटोः राजेश मैनालीको फेसबुकबाट

काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर १ स्थित सिरुटारमा प्राकृतिक ग्यास मिथेनको भण्डार फेला परेको छ ।

भक्तपुर खानेपानी आयोजनाले खानेपानीको पाइप गाड्न खनेको खाल्डोबाट मिथेन ग्यास निस्केको हो । खानी विभागको प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार यस्तो मिथेन ग्यासलाई पाइपबाट घरमा लगेर प्रयोग गर्न सकिन्छ । यस्तै ग्यास ललितपुरको इमाडोल, काठमाडौंको टेकु लगायतका स्थलमा पनि रहेको छ ।

तर भक्तपुरमा भने जमिनको सतहबाट नजिकै मिथेन ग्यास फेला परेको हो । सिरुटारमा ४२ मिटर मुनिबाट मिथेन ग्यास निस्केको हो ।

त्यहाँ इमाडोलको भन्दा धेरै मात्रामा ग्यास रहेको अनुमान गरिएको छ । इमाडोलमा पानी र ग्यास मिसिएको अवस्थामा रहेको छ । तर भक्तपुरमा भने ग्यास र पानी छुट्टा छुट्टै रहेको हुन सक्ने श्रेष्ठले बताए । मंगलबार पाइप गाड्ने क्रममा ग्यास निस्केर आगो बलेको थियो ।

सेना, प्रहरी र स्थानियले चार घण्टा लगाएर आगो निभाएका थिए ।‘सिरुटारमा ग्यासको मात्रा पनि धेरै छ, र जमिन सतहको नजिकै पनि छ, त्यहाँ ग्यास र पानी छुटिएको अवस्थामा देखिन्छ, त्यसैले त्यो आफैं बल्यो’, श्रेष्ठले विकासन्युजसँग भने । इमाडोलमा भने ३५० मिटर खनेपछि मात्रै मिथेन ग्यास फेला परेको थियो । इमाडोलमा पानी र ग्यासलाई छुट्याएर मात्रै बाल्न सकिन्छ ।

तर सिरुटारमा भने मंगलबार पाइप वेल्डिङ गर्नेक्रममा मिथेन ग्यासको भण्डारमै आगो लागेको थियो । पेट्रोलियम अन्वेषण आयोजनाका प्रमुख सुधिर रजौरेले हाल स्थानिय बासिन्दाको सुरक्षाका लागि ग्यास नबल्ने व्यवस्था गरिएको जानकारी दिए । ‘आगलागि नहुने गरि खाल्डो र पाइपलाई पुरेका छौं, नागरिकलाई पनि सतर्क रहन भनेका छौं, आपसी सहमतिमा थप अनुसन्धान तथा ड्रिलिङको काम गर्छौ’, रजौरेले भने ।

यसैबीच उद्योगमन्त्री नवीन्द्रराज जोशीले सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित गत मङलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिएका छन् । ‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको आज अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचितरुपमा संरक्षण गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीसँगै अनुगमनमा गएको खानी विभागअन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुखलगायतको टोलीले उक्त क्षेत्रलाई तारबार गरी संरक्षण गर्ने भएको छ ।  डिपबोरिङ गरेको ठाउँबाट ग्यास निस्किएर आगलागी भएको क्षेत्रलाई हाल माटोले पुरिएको भएपनि अझै प्राकृतिक मिथेन ग्यास निस्किरहेकाले तारबार गरेर संरक्षण गर्नुपर्ने प्राकृतिक तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताए ।

डिपबोरिङमा प्रयोग भएको पाइप अझै नझिकिएकाले पाइप निकालेर ग्यास निस्किएको ठाउँलाई प्लास्टर गरेर बन्द गरी सुरक्षित गर्नुपर्ने उनले बताए । जमिनबाट ग्यास निस्किएको क्षेत्र आसपासको एक सयदेखि डेढसय मिटरमा ड्रिल गरी अध्ययन गरी प्राकृतिक ग्यासको मात्रा पत्ता लगाउन सकिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.