नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी एयरबस खरिद गर्ने सम्झौता

  २०७३ चैत २५ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०-२०० वाइडवडी एयरबस खरिद गर्ने सम्झौता भएको छ । उक्त जहाज खरिद गर्ने ऐतिहासिक सम्झौतामा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले हस्ताक्षर गरेका छन् ।

निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ ।  सम्झौता लगत्तै निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुने कम्पनीले जनाएको छ ।

उक्त सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७-२०० र दुई एयरबस ३२०-२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सरु गरिसकेको छ ।

निगमले जहाज खरिदका लागि बैना रकम १ मिलियन अमेरिकी डलर माघ दोस्रो साता नै पठाइसकेको छ । हस्ताक्षर समारोहमा बोल्दै निगमका महाप्रवन्धक कंसाकारले नेपाललाई महँगो गन्तव्य मानिदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने बताए । साथै, एएआरका प्रतिनिधि दिपक शर्माले नेपाल सँग यस प्रकारको सम्झौता गर्नपाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.