खानामै सकियो नेपालीको १८ खर्ब २५ अर्ब, प्रतिव्यक्ति वार्षिक उपभोग खर्च साढे ७० हजार

  २०७३ चैत २५ गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाली घरपरिवारले गएको आर्थिक वर्ष २०७२/७३ मा १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ खाएरै सिध्याएका छन् । २२ खर्ब ४८ अर्बको अर्थतन्त्र भएको देशमा यति ठूलो धनराशी उपभोगमा सकिएको केन्द्रीय तथ्याङक विभागको तथ्याङक छ । गएको वर्ष उपभोगमा भएको खर्च अघिल्लो आव २०७१/७२ को तुलनामा ११.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा नेपालीको १६ खर्ब २२ अर्ब ४ करोड उपभोगमा खर्च भएको थियो ।

विभागका महानिर्देशक सुमन अर्यालका अनुसार नेपालीले गर्ने कुल खर्चमध्ये खाद्य उपभोगमा ५३.८० र गैरखाद्य उपभोगमा ४६.२ प्रतिशत खर्च हुने गरेको छ । उक्त उपभोग खर्च ग्रामीण क्षेत्रको भन्दा सहरी क्षेत्रको बढी रहेको तथ्यांक छ । सहरी घरपरिवारको कुल उपभोग खर्चको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत र गैरखाद्य उपभोग खर्च ५५.१ प्रतिशत खर्च गर्ने गरेका छन् भने ग्रामीण घरपरिवारको खाद्य खर्चमा कुल खर्चको ५९.८ र गैरखाद्यमा ४०.२ प्रतिशत गरेका छन् । सहरी एक घरपरिवारको वार्षिक उपभोग खर्च ३ लाख २२ हजार रहेको छ भने ग्रामीण एक घरपरिवारको खर्च २ लाख ४८ हजार रहेको छ ।

विभागका अनुसार कुल घरपरिवारले वार्षिक खाद्य वस्तुमा मात्रै आठ खर्ब ५४ अर्ब ४२ करोड ८१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । तर, खाद्य र गैरखाद्य गरी कुल घरपरिवारको खर्च भने १८ खर्ब २५ अर्ब २९ करोड ९० लाखभन्दा बढी छ । यसमा सबैभन्दा थोरै खर्च गर्ने घरपरिवारको उपभोग खर्च एक खर्ब २४ करोड छ भने बढी खर्च गर्ने घरपरिवारको उपभोग खर्च नौ अर्ब तीन अर्ब ४३ करोडभन्दा बढी रहेको अर्यालले बताए ।

प्रतिव्यक्ति वार्षिक उपभोग खर्च साढे ७० हजार

नेपाली घरपरिवारको प्रतिव्यक्ति वार्षिक औसत उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ । यसमा ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति उपभोग खर्च ५२ हजार सात रुपैयाँ र सहरी क्षेत्रमा एक लाख एक हजार ६ सय ५९ रुपैयाँ रहेको देखिन्छ ।

परिवारले गर्ने कुल उपभोग खर्च मध्ये खाद्यान्नमा ३२.१, माछारमासुमा १४.५, तरकारीमा १३.३, अन्डा र दुग्ध आठ, तेल तथा घिउ ७.८, मदिराजन्य पेय पदार्थमा ५.६, मसलामा ४.४, फलफूलमा ३.९, सूर्ती तथा सूर्तीजन्य उत्पादनमा ३.७ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

खाद्यमा प्रतिव्यक्ति ३३ हजार

केन्द्रीय तथ्यांक विभागका अनुसार खाद्य वस्तुमा मात्रै एक नेपालीको खर्च ३३ हजार ८५ रुपैयाँ छ । यस्तो खर्च गत वर्ष ३१ हजार आठ रुपैयाँ मात्रै थियो । एक वर्षमा एक नेपालीले खाद्यान्न ९ हजार ८ सय, माछामासुमा ५ हजार ३ सय, दूध र अन्डामा २ हजार ८ सय, तेलरघिउ २ हजार ४ सय, फलफूलमा एक हजार तीन सय, तरकारीमा ४ हजार एक सय, र चिनी तथा मिठाईमा नौ सय ६४ रुपैयाँ खर्च हुने गरेको विभागको तथ्यांक छ । विभागको तथ्यांकले एक नेपालीले चिया तथा कफीमा दुई सय ४१, सुर्तीजन्य पदार्थमा १३ सय, मदिराजन्य पदार्थमा दुई हजार ६३ र मसलाजन्य पदार्थमा १३ सय गरी ३३ हजारभन्दा बढी खर्च गर्ने गरेको देखाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक ग्रामीण क्षेत्रमा एक सय ५० गणना क्षेत्रका २२ सय ५० घरपरिवार र सहरी क्षेत्र अन्र्तगतका एक सय ५० गणना क्षेत्रका २२ सय ५० घरपरिवार गरी कुल ४५ सय घरपरिवारमा गरेको सर्वेक्षणमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.