महासंघमा पूर्व अध्यक्षको परिवारबाट पाँच जना उम्मेदवार, कसको पावर कति ?

  २०७३ चैत २४ गते १३:४६     विकासन्युज

मनिषलाल प्रधान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा महासंघको पूर्व अध्यक्षहरुको परिवारबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । पूर्व अध्यक्ष महेशलाल प्रधानको छोरा मनिषलाल प्रधानले जिल्ला तथा नगर क्षेत्रको खुला सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले ललितपुर उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका छन् । यसअघि उनी वाग्मती अञ्चलबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । किशोर प्रधानको टिमले उनलाई आफ्नो पक्षको उम्मेदवार घोषणा गरेको छ । यद्यपी उनले आफू शेखर गोल्छाको टिममा रहेको बताउँदै आएका छन् । उनले चुनावमा राम्रै प्रतिस्पर्धा गर्नुपर्ने तर चुनाव जित्ने अनुमान धेरैले गरेका छन् ।

 

सौरभ ज्योति

पूर्व अध्यक्ष पद्म ज्योतिको छोराले एशोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । उनीले एशोसिएटतर्फको उपाध्यक्षको दावी गर्दै आएका थिए । अन्तिम समयमा उनले उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरे । नेपालका ठूला व्यवसायिक घराना मध्ये एक ज्योति समूहको प्रतिनिधि, पूर्व अध्यक्षको छोरा, उपाध्यक्षको दावेदारी छोडेर अन्तिममा सदस्यमा उम्मेदवारी दिएकाले उनले पपुलर भोट ल्याएर चुनाव जित्ने सम्भावना छ । महासंघमा तीन कार्यकाल कार्यसमिति सदस्य भई सकेको, राम्रो भूमिका खेल्दै आएको र क्षमतावान व्यक्तिको रुपमा धेरैले उनलाई हेर्ने गर्छन । तर एउटा पक्षले उनलार्इ टार्गेट बनाएकाेले पपुलर भाेट नअाउने अाशंका एक थरीकाे छ ।

उदीप श्रेष्ठ

पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठका छोरा उदीप श्रेष्ठले पनि एशोसिएट तर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी महासंघको राजनीतिमा पहिलो पटक प्रवेश गर्दैछन् । पूर्व अध्यक्षका छोरा र ठूलोे औद्योगिक समूह पञ्चकन्या ग्रुपको प्रतिनिधि हुनु उनको स्ट्रेन्थ हो । तर मंगलबार अन्नपूर्ण होटलमा आयोजित गोल्छा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षको हैसियतमा मञ्चमा शुभकामना दिन गएका प्रदीप कुमारले आफ्नो छोरालाई मञ्चबाट उम्मेदवारको परिचय गराउँदा धेरैले निको मानेका थिएनन् । ‘एशोसिएटतर्फ १९ पदमा ३१ जना प्रतिस्पर्धा गर्दैछन्, पदाधिकारीको उम्मेदवारी घोषणा सभामा किन उदीपको मात्र उम्मेदवारी घोषणा गरियो ?’ एशोएियटतर्फबाट उम्मेदवारी दिएका अधिकांशले यहि प्रश्न गरिरहेका छन् ।

प्रदीपकुमार श्रेष्ठ पहिला किशोर प्रधानको समूहको समर्थक रहेको र गोल्छा समूह बलियो भएको निष्कर्षमा अन्तिममा गोल्छा समूहमा प्रवेश गरेको, पदाधिकारीका उम्मेदवार घोषणा सभामा पुत्र मोह प्रदर्शन गरेको भन्दै उनको आलोचना भईरहेको छ ।

हेमराज ढकाल

त्यस्तै, पूर्व अध्यक्ष चण्डिराज ढकालका भाई हेमराज ढकालले बस्तुगत समूह तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । ढकालले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएका हुन । महासंघको निर्वाचनमा किङ मेकरको भूमिकामा सफल देखिएका पूर्व अध्यक्षको भाई हुनुको नाताले र आफैमा सफल उद्यमी भएको नाताले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न केही सहज छ ।

प्रबलजंग पाण्डे

यसअघिका अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे एशोसिएटतर्फको सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । उनी पहिलो पटक महासंघ कार्यसमितिको निर्वाचनमा उम्मेदवार बनेपछि यसअघि आफ्ना बुबालाई चुनाव जिताउँदाको अनुभवले अहिलेको चुनावी प्रतिस्पर्धा सजिलो भएको छ । उनी अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा, एशोसिएटतर्फबाट सर्वसहमत भएका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको दरिलो समर्थन चुनावमा आएकाले उनको जित पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.