भैरहवाबाट गोल्छा टिमको उम्मेदवारी घाेषणा, पशुपति मुरारका र भवानी राणाकाे खुला समर्थन

  २०७३ चैत ६ गते १९:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाको समूहले भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

गाेल्छा समूहलार्इ समर्थन गर्दै उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ सहभागि थिए । वर्तमान अध्यक्ष मुरारका र आगामी अध्यक्ष भवानी राणा उक्त सभामा भाग लिनु र निर्वाचनको प्रतिस्पर्धामा उत्रिएको एउटा पक्षको समर्थनमा खुलेर मैदानमा जानुलाई धेरै व्यवसायीले ननिको मानेको देखिन्छ ।

‘अध्यक्षको निर्वाचनले गुटको राजनीति निम्त्याएको भन्दै वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरि महासंघको विधान संशोधन गरिए पनि पुरानो समस्याले निरन्तरता पायो’ महासंघको एक पूर्व अध्यक्ष भने–‘कम्तिमा वर्तमान अध्यक्ष मुरारका र विधान अनुसार निर्वाचनपछि स्वतः अध्यक्ष भईसकेकी राणा चुनावी मैदानमा नउत्रिएको भए राम्रो हुन्थ्यो ।’

उम्मेदवारी घोषणा गर्न देशका विभिन्न स्थानबाट करिव ३०० जना व्यवसायी हवाईजहाज र हेलिकप्टरबाट भैरहवा उतारिएको थियो । यसअघि महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवारले जिल्ला जिल्लामा भोट माग्न गाडी र हवाई टिकटमा ठूलो खर्च गर्ने गरेका थिए ।

यसपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा हेटिकप्टर चार्टड गरेर विभिन्न जिल्लामा भोट माग्न हिडेका छन् । स्राेतका अनुसार गोल्छा समूहले निर्वाचनमा करिव १५ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएकाे छ ।

महासंघको निर्वाचन निकै महँगो र भड्किलो भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.