५०० दरका नयाँ भारु नोट सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

  २०७३ पुष २४ गते ११:२४     विकासन्युज

ic500काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ५०० दरका नयाँ भारु नोट सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले गत साता राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र डेप्युटी गभर्नरहरुलाई आफ्नै कार्यालयमा बोलाएर ५०० दरका नयाँ भारतीय नोट तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको श्रोतले बतायो ।

भारत सरकारले गत नोभेम्बर ८ देखि ५०० र १००० दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि उसले नयाँ डिजाइन र सेक्युरीटी फिचरसहितका ५०० र २०० दरका नयाँ नोट बजारमा ल्याइसकेको छ । नेपालमा भने अझै पनि ती नोट सञ्चालनमा ल्याइएको छैन् । नेपालीले बैधानिक रुपले राखेको २५ हजारसम्मको ५०० र १००० दरका पुराना भारतीय नोट सटही नभएसम्म नयाँ नोट सञ्चालनमा नल्याउने मनस्थितिमा केन्द्रिय बैंक रहेको छ ।

तर प्रधानमन्त्री दाहालले हुण्डी व्यवसायीको दबावमा ५०० दरको नयाँ भारतीय नोट तत्काल सञ्चालनमा ल्याउन दबाव दिएको श्रोतले बतायो । ‘५०० र १००० दरका पुराना नोटको सेटलमेन्ट नहुँदै नयाँ नोट सञ्चालनमा ल्याउँदा नयाँ समस्यामा फस्ने जोखिम बढ्छ’, श्रोतले भन्यो ।

एक सय दरका नोट मात्रै सञ्चालनमा रहँदा हुण्डी कारोबारमा असर परेपछि हुण्डी व्यवसायीले नयाँ ५०० दरका भारु सञ्चालनमा ल्याउन प्रधानमन्त्री मार्फत दबाव दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.