बुलेट रेलमा मेची-महाकाली ५ घण्टामै पुगिने, बन्दैछ प्रति घण्टा २ सय किलोमिटर दौड्ने रेल

  २०७३ पुष ६ गते १६:५६     नारायण पौडेल

raiwaysकाठमाडौं, ६ पुस । निर्माणाधिन ९४५ किलोमिटर लामो रेलमार्गले मेची- महाकाली यात्रालाई करिब ५ घण्टामै सम्भव बनाउने भएको छ । रेल विभागको नेतृत्वमा निर्माण आरम्भ गरिएको मेची महाकाली विद्युतिय रेल मार्गले प्रति घण्टा २०० किलोमिटरको दुरी पार गर्दै पाँच घण्टामा झापाका नेपालीलाई कञ्चनपुर पुग्न सम्भव बनाउन लागेको हो । ‘मेची महाकाली रेल मार्गमा प्रति घण्टा २०० किलोमिटरको दुरीमा रेल कुद्छन जसले मेचीबाट महाकाली पुग्न करिब ५ घण्टा मात्रै लाग्नेछ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले भने ।

प्रति किलोमिटर ४५ करोड लागत अनुमान गरिएको मेची महाकाली रेलवेको १०८ किलोमिटर खण्डालई आगामी ५ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर भारतीय नाका बन्दी र भूकम्पले काममा केहि ढिलाई भएको उपाध्याले दावी गरे । उनका अनुसार हाल बर्दिबासबाट पश्चिम खण्डको २५ किलोमिटरमा रेल मार्ग निर्माणको काम अघि बढेको छ । सो मार्ग निर्माणका लागि करिब एक अर्ब रुपैंयाँ बजेट विनियोजन भएको छ ।

विभागले बर्दिबास–बुटवल खण्डको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार पारिसकेको छ । पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा भने अझै केहि समस्या रहेको छ । त्यस बाहेक बर्दिबास–इनरुवा–काकडभिट्टाको २४७ किलोमिटर खण्डको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ । उता, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डा चौकीको रेल वे लाइनको डिपिआर पनि धमाधम बनिरहेको छ ।

सिंगल लेनमा निर्माण हुने मेची–महाकाली विद्युतिय रेल मार्गलाई ट्रान्स एसियन रेल वे लाइनको मिसिङ(छुटेको) खण्डका रुपमा हेरिएको छ । यसले नेपालाई एसिया हुँदै युरोप र चीनियाँ रेल वे सञ्जालसम्म जोड्नेछ ।‘यो रेल वे लाइन अन्तराष्ट्रिय स्तरको हुनेछ, जसले नेपालाई युरोप र चिनियाँ रेल वे सञ्जालसम्म पुर्याउनेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्याले भने । यस्तो रेल वे लाइन पुर्व पश्चिम राजमार्ग भन्दा दक्षिण अधिकतम ६ किलोमिटरको दुरीमा निर्माण हुनेछ ।

अब जयनगर–जनकपुर–बर्दिबाससम्म
नेपालकै एक मात्र रेल वे सेवाका रुपमा केहि बर्ष अघिसम्म सञ्चालनमा रहेर हाल बन्द अवस्थामा रहेको जनकपुर–जयनगर रेल वे लाइन पनि फेरी निर्माण हुँदैछ । नयाँ बन्ने रेल वे लाइन भारतको जयनगरदेखि बर्दिबासम्मको ७० किलोमिटर लम्बाईको हुनेछ । आगामी दुई बर्षभित्रै सम्पन्न हुनेगरि भारत सरकारको शतप्रतिशत सहयोगमा यो रेल मार्गको निर्माण पनि धमाधम अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.