उपत्यकामा बगैँचा र हरियाली प्रवद्र्धन गर्न ७० मिलियन डलरकाे याेजना बन्दै

  २०७३ कार्तिक २८ गते १६:१२     विकासन्युज

????

काठमाडौं, २८ कात्तिक । काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धनका लागि ७० मिलियन डलरको सहयोग जुट्ने भएको छ । उपत्यकालाई हरित नगरि बनाउन भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले ७० मिलियन डलरको प्रोजेक्ट जुटाउन लागेको हो । दिगो विकास रणनीति अन्तर्गत युएन इस्क्यापको कार्यक्रमबाट प्राधिकरणले सो रकमको जोहो गर्नेछ । ‘युएन इस्क्यापको ७० मिलियन डलरको प्रोजेक्ट पाउने निश्चित जस्तै भएको छ, त्यो पैसा आयो भने उपत्यकालाई हरित नगरि बनाइनेछ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजसँग भने ।

तिवारीका अनुसार युएन इस्क्यापले संसारका १० वटा मुलुकका बिभिन्न शहरमा हरियाली प्रवद्र्धनका लागि त्यस्तो सहयोग दिँदै आएको छ । यसपालीको सहयोगको सूचिमा नेपाल दुई नम्बरमा परेको छ । युएन इस्क्यापको सूचिमा केन्या एक नम्बरमा रहेको उनले बताए । ‘नेपाल त्यस्तो सहयोग पाउने मुलुकको २ नम्बरमा छ, १० वटा मुलुकले पाउने भएकाले २ नम्बरमा परेका हामीले त्यो सहयोग पाउने निश्चित जस्तै भैसकेको छ’, तिवारीले भने । उनका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सार्वजनिक क्षेत्रमा बगैँचा निर्माण तथा हरियाली प्रवद्र्धनमा सो रकम खर्च गरिनेछ । त्यसका लागि हाल प्राधिकरणले धमाधम योजना बनाईरहेको पनि उनले जानकारी दिए ।

‘दिगो विकास लक्ष्यको कार्यक्रम अनुसार हामीले त्यो पैसा पाउँछौं, त्यसले उपत्यकालाई हरित नगरिका रुपमा स्थापित गराउनेछ’, तिवारीले भने । उनले उपत्यकाका तीनै जिल्लामा रहेका खाली सार्वजनिक जमिनलाई अन्य प्रयोजनमा उपयोग नगर्न पत्राचार गरिसकिएको पनि बताए । ‘उपत्यका भित्रका खाली सार्वजनिक जमिनमा अन्य सरंचना नबनाउन निर्देशन दिइसकेका छौं’, तिवारीले विकासन्युजसँग भने ।
संयुक्त राष्ट्र संघको वातावरण विभागले त्यस्तो सहयोग उपलब्ध गराउन लागेको हो ।

वातावरण विभागको युएन इस्क्यापले नोभेम्बर ३० तारिख देखि डिसेम्बर १ तारिखसम्म थाइल्याण्डको बैंककमा ‘एसिया तथा प्यासिफिक शहररुमा २०३० को दिगो विकास लक्ष्यको कार्यान्वयन’ विषयक गोष्ठीको आयोजना गर्दैछ । तिवारीले सो गोष्ठीमा नेपाली प्रतिनिधीका रुपमा सहभागीता जनाएर आफ्ना योजना तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

नारायण चौर र कमलपोखरीको फेरियो मुहार
एक करोड ३७ लाख खर्चेर प्राधिकरणले नारायण चौरको खाली जमिनमा बगैँचा बनाएर मुहार फेरिदिएको उनले बताए । त्यस्तै, दुई करोडको सिमित बजेटमै कमलपोखरीको पनि मुहार परिवर्तन गराएको उनले बताए ।‘न्युन लगानीमा नारायणचौर र कमलपोखरीको मुहार फेरिएको छ, बजेट र इच्छाशक्ति भयो भने उपत्यकालाई बगैँचा र हरियालीयुक्त शहर बनाउन सक्छौं भन्ने पुष्टि भैसकेको छ’, तिवारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.