वर्षेनी काठ किन्नै साढे दुई अर्ब खर्च

  २०७३ भदौ ५ गते १:३०     विकासन्युज

काठमाडौं, ५ भदौ । प्रशस्त वन जंगल भएर पनि नेपालमा काठ किन्नमा खर्च हुने रकम साढे दुई अर्ब रुपैयाँ रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको भएपनि नेपालले वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको काठ आयात गर्ने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।kath-forest

नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउँछन् ।

नीति निर्माणकर्तादेखि सरकारी कर्मचारीहरूमा यो मानसिकता बढी रहेको उनको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन गर्न लामो समयदेखि गृहकार्य भए पनि कार्यान्वयन हुन नसक्दा विदेशबाट धेरै काठ आयात हुने गरेको हो ।

नेपालको वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरेमा रोजगारी पनि सिर्जना हुने ढकालको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन हुन सकेन वन तथा भूसंरक्षण मन्त्रालयका अनुसन्धान अधिकृत यज्ञनाथ दाहाल वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रूपमा हुन नसकेको बताउँछन् ।

‘छिटोछिटो सरकार परिवर्तनले प्रभावकारी रूपमा काम गर्न सकेका छैनौं,’ दाहालले भने, ‘हरेक प्राणीको एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिन्छ । त्यसैगरी, रूखको पनि एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिने भएकाले काटेर प्रयोग गर्दा उचित हुन्छ ।’ वैज्ञानिक वन व्यवस्थापन भएमा विदेशबाट आयात हुने काठ विस्थापित हुने दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.