बीमा कम्पनीहरुले पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्नै पर्ने, समय तालिकासहित बीमा समितिको निर्देशन

  २०७३ साउन ३ गते ५:३७     विकासन्युज

काठमाडौं, ३ साउन । बीमा कम्पनीहरुको बार्षिक साधारणसभा समयमै गर्न बीमा समितिले बाध्यकारी ब्यवस्था गरेको छ । पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गरिसक्न समितिले जीबन र निर्जिबन दुबै प्रकारका कम्पनीहरुलाई निर्देशन दिएको छ ।

insurance_bordसमितिले गत १३ असारमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । निर्जीबन बीमा कम्पनीहरुलाई पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गर्ने गरी काम गर्न कडा निर्देशन दिएको समितिले जानकारी दिएको छ ।

‘कम्पनीको वित्तीय विवरणको समयमा जानकारी पाउनु बिमित र लगानीकर्ता दुबैको हक हो, त्यसैले पुस मसान्तभित्रमा साधारणसभा गरिसक्ने ब्यवस्था मिलाउनु हुन जानकारी गराइन्छ,’ समितिले निर्जीबन बीमा कम्पनीहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । समितिको सो निर्देशन पालना नगरे कारवाही गर्ने चेतावनी समितिले दिएको छ ।

जीबन बीमा कम्पनीहरुलाई काम गर्नको लागि समितिले समयसीमा दिएको छ । जसअनुसार जीबन बीमा कम्पनीहरुले लेखापरीक्षण गराउने सैद्धान्तिक स्वीकृति आर्थिक बर्ष सकिएको २ महिना भित्रमा लिइसक्नुपर्ने छ । यस्तो सैद्धान्तिक सहमति बीमा समितिले दिन्छ ।

जीबन बीमा कम्पनीहरुले लेखा परीक्षण सहितको वित्तीय विवरण आर्थिक बर्ष सकिएको ४ महिनाभित्रमा स्वीकृति गराइ सक्नुपर्ने नयाँ ब्यवस्था गरिएको छ । आर्थिक बर्ष सकिएको ६ महिना भित्रमा बार्षिक साधारणभा पनि गरिसक्न समितिले निर्देशन दिएको छ ।

यसअघि अधिकांश बीमा कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्ने गरेको थिएनन् । कम्पनी ऐन अनुसार पुस मसान्तसम्म भित्र साधारणसभा गरिसक्नु पर्नेछ । तर बीमा कम्पनीहरुले बीमा व्यवसायको प्रकृति फरक भएको, वित्तीय विवरण तयार गर्न बढी समय लाग्ने, बीमांकीय मूल्यांकन गर्नु पर्ने लगायतका कारण देखाउँदा साधारणसभा गर्न ढिलाई गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.