आउला त हुलाकी राजमार्गका लागि भारतीय अनुदानको एक अर्ब ७७ करोड ?

  २०७३ जेठ ३२ गते ६:११     विकासन्युज

काठमाडौं, ३२ जेठ । तराई मधेशको लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गलाई सरकारले चार अर्ब २० करोेड रुपैंयाँ बजेट विनियोजन गरेको छ । त्यसमा नेपाल सरकारले दुई अर्ब ४३ करोड रुपैंयाँ छुट्याएको छ भने बाँकी एक अर्ब ७७ करोड भारतीय अनुदानको रकम रहने उल्लेख गरेको छ । तर चालु आर्थिक वर्षकै लागि भारत सरकारबाट हुलाकी राजमार्गले पाउने भनिएको दुई अर्ब ६ करोड रुपैंयामध्ये नेपालले एक रुपैंयाँ समेत पाएको छैन् ।

four-lane_highway
चालु आर्थिक वर्षमा सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब १९ करोड रुपैंयाँ विनियोजन गरेको थियो । त्यसमध्ये एक अर्ब १३ करोड नेपाल सरकारको थियो भने दुई अर्ब ६ करोड भारतीय अनुदानको रकम थियो । सो भारतीय अनुदान वापतको रकम हालसम्म नेपालले पाएको छैन् । ‘चालु आर्थिक वर्षका हुलाकी राजमार्गले पाएको बजेट मध्ये दुई अर्ब ६ करोड भारतीय अनुदानबाट प्राप्त हुने भनिएको थियो तर अझै एक  रुपैंयाँ समेत पाईएको छैन्’, हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले विकासन्युजसँग भने ।

नेपाल सरकारले दिने भनेको एक अर्ब १३ करोडमध्ये हालसम्म ९७ करोड रुपैंयाँ खर्च भैसकेको छ । सो रकमबाट ५० वटा पुलको निर्माण भैसकेको मिश्रले जानकारी गराए । हाल थप ७० वटा पुल निर्माणको चरणमा रहेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गलाई चालु आवको भन्दा एक अर्ब बढि बजेट विनियोजन गरेको छ । त्यसमा पनि नेपाल सरकारले उपलब्ध गराउने रकमको हिस्सा सवा अर्बले बढेको छ ।

‘चालु आर्थिक वर्षमा नेपाल सरकारले एक अर्ब १३ करोड दिने भनेको थियो, आगामी आवका लागि दुई अर्ब ४३ करोड रुपैंयाँ नेपाल सरकारले दिने भनेको छ, यसले हुलाकी मार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको देखाउँछ’, मिश्रले भने । तर भारतीय अनुदाबाट प्राप्त हुने भनिएको रकम भने अझै आउनेमा उनी विश्वस्त छैनन् । ‘भारती अनुदान वापतको रकम चालु आवमा पनि पाइएन र आगामी आवमा पनि पाइन्छ भन्नेमा विश्वास छैन्, कार्यबिधीमै समस्या छ भन्ने सुनिको छ’, मिश्रले भने ।

सुरुमा भारत सरकारले नै निर्माण गरिदिने सहमति भएको हुलाकी राजमार्गपछि भारतीय अनुदानमा नेपाल आफैंले बनाउने समझदारी भएको थियो । जस अन्तर्गत भारतले अनुदान रकम दिने र नेपालले टेण्डर आव्हान गरेर निर्माण अघि बढाउने उल्लेख गरिएको थियो । तर भारतले परामर्श दाता नियुक्तीमा आफु अनुकुल सर्त अघि सारेपछि अनुदान उपलब्ध गराएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.