भाडा बढी पर्ने भन्दै उद्योगीद्धारा तराइको ग्यास काठमाडौं ल्याउन अस्वीकार

  २०७२ कार्तिक ११ गते ११:००     विकासन्युज

काठमाडौं, ११ कात्तिक । ग्यास उद्योगीले तराइ क्षेत्रमा आएको ग्यास काठमाडौं ल्याएर वितरण गर्न अस्वीकार गरेका छन् । तराइवाट काठमाडौं ल्याउन भाडा बढी लाग्ने भन्दै उद्योगीले सो भाडा सरकारले ब्यहोर्ने भए मात्रै आफूहरुले ग्यास ल्याउने शर्त आयाल निगम समक्ष राखेका छन् ।

पछिल्लो समयमा बीरगन्ज वाहेकका नाकावाट केहि मात्रामा ग्यास नेपाल आइरहेको छ । तर यसरी आएको ग्यास उद्योगीले काठमाडौं ल्याउन अस्वीकार गरेका कारण काठमाडौंमा ग्यासको हाहाकार भएको हो । तराइवाट काठमाडौंसम्म ग्यास ल्याउनको लागि निगमले भाडा दिने हो भने मात्रै आफूहरुले ग्यास काठमाडौं ल्याउने प्रश्ताव उद्योगीवाट आएको नेपाल आयाल निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

‘तराइ क्षेत्रका उद्योगको लागि आएको केहि ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएका थियौं, तर ब्यवसायीले थप ढुवानी भाडा माग गरेपछि योजना सफल हुन सकिरहेको छैन,’ निगमका एक उच्च अधिकारीले भने ।

निगमले यसअघि विराटनगरको प्रिमा ग्यासलाई काठमाडौं ल्याएर सुगम ग्यासको सिलिण्डरमा भरेर दशै अगाडि वितरण गरेको थियो । तर यसरी वितरण गर्दा आफूहरुलाई नोक्सानी भएको भन्दै उद्योगीले ग्यास नल्याउने जानकारी निगमलाई दिएका हुन् ।

१५ करोड क्षतिपूर्ति दाबी
भारतको अघोषित नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनको कारण ग्यासका बुलेट संचालनमा नआइ त्यसै बस्नु परेको भन्दै उद्योगीले निगमसँग १५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । ग्यास बुलेट ठेकेदारले आफूहरुसँग क्षतिपूर्ति माग गरेको भन्दै उद्योगीले त्यस्तो रकमको दाबी निगमसँग गरेका हुन् ।

भारतवाट नेपालसम्म ग्यास ल्याउनको लागि भारतीयकै बुलेटमा भर पर्नु परेको छ । यद्यपि भारतीय ठेकेदारले रकम दाबी गरेनगरेको प्रमाण भने उद्योगीले पेश गरेका छैनन् ।

‘ठेकेदारले दाबी गरेको भन्दै १५ करोड रुपैयाँ क्षतिपूर्ति माग भएको छ, तर अहिलेसम्म यस्तो रकम दिने नदिने बारेमा कुनै निर्णय भएको छैन,’ निगम स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.