६ प्रतिशतले हवाई यात्रु बढे, दैनिक ३ सय विमान उड्छन्

  २०७१ पुष १७ गते १०:५४     विकासन्युज

१७ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन विमानस्थलमा अहिले साना ठूला गरी दैनिक तीन सयभन्दा बढी विमान आवतजावत गर्ने गरेको जनाएको छ ।
स्थापनाको १६ औं वार्षिकोत्सव मनाउने क्रममा क्यानले आफ्नो सेवालाई सुरक्षित, स्तरीय तथा प्रभावकारी तुल्याउन समय सापेक्ष प्रविधिको विकास, पूर्वाधार निर्माण तथा दक्ष जनशक्तिको साथमा सेवालाई विस्तार गर्दै लगेको बताएको छ । ६५ वर्ष घि सन् १९४३ मा स्थापना भएको नेपालको हवाई उडान क्षेत्रले अहिले विश्वव्यापी पहुँच र विस्तारसँगै ठूलो फड्को मारेको छ । सन् १९६६ ताका पहिलो पटक जेट एयरबाट अन्तर्राष्ट्रिय उडान भित्र्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् १९६८ देखि थाई एयरको नियमित उडान सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को तथ्याङंअनुसार सन् २०१३ मा विश्वव्यापी यात्रु आवागमन ५ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ दशमलव ८ प्रतिशत यात्रु संख्या पुगेको थियो भने सन् २०१४ मा हवाई यात्रु आवागमन विश्वव्यापी रूपमा ६ दशमलव शून्य प्रतिशत र एसिया–प्रशान्त क्षेत्रमा सात दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । आगामी सन् २०१५ मा विश्वव्यापी यात्रु आवागमन दर ६ दशमलव तीन प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
क्यानका महानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार नेपालमा समग्र हवाई यात्रु आवागमनको स्थिति सन् २०१२ को तुलनामा सन् २०१३ मा अन्तर्राष्ट्रिय हवाई सेवातर्फ हवाई यात्रु आवागमन सात दशमलव ३६ प्रतिशतले, वायुयान आवागमन एक दशमलव २८ प्रतिशतले बढेको छ ।
क्यानको प्रगति विवरणअनुसार सन् २०१३ को पहिलो १० महिनाको तुलनामा सन् २०१४ को पहिलो दस महिनामा हवाई यात्रुतर्फ १२.७३ प्रतिशतले, वायुयान आवागमनतर्फ १६.०४ प्रतिशतले र कार्गो ढुवानीतर्फ १९.३५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवर सम्म त्रि.अ.विमा करिब २८ लाख ८५ हजार अन्तर्राष्ट्रिय उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ ।
आन्तरिक हवाई यातायाततर्फ यस वर्षको पहिलो १० महिनामा सन् २०१३ को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमनतर्फ पाँच दशमलव ७२ प्रतिशत, वायुयान आवागमन सुन्य दशमलव ३४ प्रतिशतले ह्रास आएको क्यानले जनाएको छ । यात्रु संख्याको दृष्टिकोणले सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवरसम्म त्रि.अ.वि. मा करिब ११ लाख ९४ हजार अन्तरिक उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ ।

त्रि.अ.वि. को सन् २०१३ को तथ्यांकअनुसार अन्तर्राष्ट्रिय हवाई ट्राफिकमा नेपाली वायुसेवाको योगदान वायुयान आवगमनतर्फ छ दशमलव ५८ प्रतिशत, यात्रुतर्पm छ दशमलव ८६ प्रतिशत र कार्गो ढुवानीतर्फ पाँच दशमलव ४९ प्रतिशत रहेको छ । नेपालले द्धिपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकहरूको संख्या ३६ पुगेको छ । अहिले त्रि.अ.वि. बाट दुई वटा स्वदेशी तथा २३ वटा विदेशी वायुसेवाहरू गरी कुल २५ वटा अन्तर्राष्ट्रिय वायुसेवाहरूले १३ मुलुकका २२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । क्यानबाट हालसम्म ५९ वटा वायुसेवा कम्पनीहरूलाई वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गरिएकोमा ४२ वटा रद्ध भएको र जम्मा १७ वटा मात्र सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.