यस्तो बन्दैछ शेष घलेको शेराटन होटल

  २०७१ मंसिर २२ गते १६:२८     विकासन्युज

२२ मंसिर । नेपाल मूलका अस्ट्रेलियन धनाढ्य एवं गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अक्टुवर ११ तारिखका दिन शेराटन होटल निर्माण आरम्भ गरे । उनले प्रधानमन्त्री सुशील कोइरालाका हातबाट होटलको शिलान्यास गराएका थिए ।
गैरआवासीय नेपालीहरू चाडबाड मान्न नेपाल आउँछन् र लगानी गर्ने गफ लगाएर फेरि विदेश फर्कन्छन भन्ने आरोपलाई चिर्दै घलेले आठ अर्ब लगानीको मेगा प्रोजेक्टका रूपमा शेराटन होटल निर्माण आरम्भ गरेका थिए । एमआईटी ग्रुप होल्डिङ्सका मालिक घलेले झन्डै चार वर्षको तयारीपछि ‘शेराटन काठमाडौं होटल’ को निर्माण कार्य आरम्भ गरेको बताएका थिए ।
के के छन् त शेराटन होटलमा ?
पाँचतारे लक्जरी होटल शेराटन काठमाडांैमा २ सय १८ वटा गेस्टरुम र सुइट रहने छन् । हेल्थ क्लब, स्पा, वातानुकूलित स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुविधाका साथै स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।
विवाह तथा सभा समारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष हुनेछ, जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।
भवन निर्माणमा आधुनिक ‘पोस्ट टेन्सन्ड कंक्रिट’ को प्रयोग भइरहेको छ । काठमाडौंमै पहिलोपटक प्रयोग गर्न लागिएको यो प्रविधिले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।
रोजगारीको अवसर
होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल सञ्चालनपछि ४ सय ५० जना दक्ष जनशक्तिले रोजगारी पाउनेछन् ।
के हो शेराटन होटल ?
विश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एन्ड रिसोर्ट वल्र्डवाइड इंक’ ले सञ्चालन गर्ने विभिन्न होटल ब्रान्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा ४ सय होटल सञ्चालन भइरहेका छन् । स्टारवुडले शेराटनबाहेक सेन्ट रेगिस, द लक्जरी कलेक्सन, डब्ल्यु, वेस्टिन, लि मेरिडियन, शेराटन, फोर पोइन्ट्स वाई शेराटन, अलोफ्ट र इलेमेन्ट ब्रान्डमा विश्वका झन्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ । यी होटलहरुमा करिब १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् ।
कसरी जुट्दैछ लगानी ?
करिब ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा सतप्रतिशत वैदेशिक (अस्ट्रेलियन) लगानी रहेको छ । होटलको प्रवद्र्धक अस्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्स रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्नेछ ।
कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेस्टरुम हुनेछन् ।
सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।
अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि सावित हुने अनुमान गरिएको छ । यो नै मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो ।
के हो एमआईटी ग्रुप होल्डिङ ?
एमआईटी ग्रुप होल्डिङ गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रवद्र्धित अस्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको कम्पनी हो । यसले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेको छ । त्यहाँ करिब ३ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका विभिन्न व्यावसायिक भवनहरुको स्वामित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.