सीईओलाई नै बैंक अध्यक्षको जिम्मेवारी दिनुपर्छ

२०७१ कार्तिक १६ गते १०:३५ विकासन्युज
  • समस्यामा परेका बैंक तथा वित्तीय संस्थाको पोस्टमार्टम गर्दा पत्ता लागेको मुख्य रोग संस्थागत सुशासनको अभाव नै हो ।

  • जति पनि वित्तीय संस्था समस्यामा परेका छन्, ती संस्थाका सञ्चालकहरूको नियत नै खराब थियो । अञ्जानवश होइन ।

  • गभर्नर डा. युवराज खतिवडाले लाइसेन्स दिनु गल्ती भएको स्वीकार गरिसक्नुभएको छ । बैकिङ बुझ्दै नबुझेका, जान्दै नजानेकालाई धमाधम बैंक खोल्न लाइसेन्स दिइयो ।

  • अधिकांश संस्थाका अध्यक्ष निरंकुश भएको पाइन्छ । प्राविधिक विषय सबैले नबुझ्ने, सञ्चालकहरूले ‘अध्यक्षज्यू जे गर्नुपर्छ तपाई नै गर्नुहोस्, हामी सही गरिदिन्छौं’ भनेर उनलाई सर्वेसर्वा बनाउने कल्चर रहेछ ।

  • सामान्यतया बैंकको प्रवद्र्धक व्यक्ति होइन, संस्था हुनुपर्छ । बैंकमा व्यक्तिगत लगानीकर्तालाई निरुत्साहित गर्नुपर्छ । भएका लगानीकर्तालाई पनि सम्मानजनक रूपमा बाहिर जाने मौका दिनुपर्छ ।

  • सर्वसाधारणमा ३० प्रतिशत मात्र होइन, ५०/६० प्रतिशत सेयर दिन सकिन्छ ।

संस्थागत सुशासनको विषयलाई नेपाल बैंकिङ इन्स्टिच्युटले प्राथमिकताका साथ उठाउँदै आएको छ । राष्ट्र बैंकले पनि संस्थागत सुशासनलाई नै जोड दिएको छ । तैपनि बैकिङ क्षेत्रमा संस्थागत सुशासन कायम हुन सकेका छैनन् नि ?

सबै क्षेत्रमा संस्थागत सुशासन जरुरी छ । तर हामीले नेप्सेमा सूचीकृत कम्पनी, त्यसमध्ये पनि बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बढी हुनुपर्छ भनेर जोड दिँदै आएका छौं । किनकि बैंक तथा वित्तीय संस्था अरु व्यावसायिक कम्पनीभन्दा फरक छन् । यसमा लाखौं निक्षेपकर्ताको पैसा छ । यहाँ लाखौं सर्वसाधारण मानिसहरूको सेयर लगानी छ । एउटै संस्थामा पाँच सय÷एक हजार कर्मचारी छन् । ती कर्मचारीको परिवारको भविष्य जोडिएको छ । वित्तीय क्षेत्रलाई स्थायित्व दिनु सरकारको प्रमुख दाहित्व पनि छ । बैकिङ क्षेत्रमा संस्थागत सुशासन राम्रो भएन भने कुनै पनि समयमा संस्था संकटमा पर्न सक्छ । त्यसको असर निक्षेपकर्ता, लगानीकर्ता, कर्मचारी, नियामक निकाय सबैलाई पर्छ ।
सबैले बुझ्न जरुरी के छ भने अरु क्षेत्रमा सुशासन छ, बैकिङ क्षेत्रमा सुशासन छैन भन्ने होइन । अरु क्षेत्रको तुलनामा बैकिङ क्षेत्रमा सुशासन छ, पारदर्शिता छ, कर्पोरेट कल्चरको विकास हुँदै आएको छ । यस क्षेत्रका लागि नियमहरू कडा हुँदै गएको छ । र, समग्रमा बैकिङ क्षेत्रमा संस्थागत सुशासनमा सुधार पनि हुँदै गएको छ ।
संस्थागत सुशासनमा सुधार भएको भए किन एक पछि अर्को बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पीसीए लगाएको, किन खारेज गर्नुपरेको ?
विगत तीन/चार वर्षमा केही वाणिज्य बैंक, केही विकास बैंक, केही फाइनान्स कम्पनीमा समस्या आयो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थाको पोस्टमार्टम गर्दा पत्ता लागेको मुख्य रोग पनि संस्थागत सुशासनको अभाव नै हो । त्यसमा पनि सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू र उच्च व्यवस्थापकहरूको नियत खराब भएको पाइन्छ । उनीहरूले संस्था राम्रोसँग सञ्चालन गरेनन् । जसको परिणाम, लाखौं निक्षेपकर्ता, लाखौं सेयरधनी समस्यामा परेका छन् । अवकाश प्राप्त कर्मचारीहरू, जसले आजीवन कमाएको पैसा सेयरमा लगानी गरेका थिए, उनीहरूको बिचल्ली भएको मैले नै पाएको छु । केही मान्छेहरूले आत्महत्या गरेका छन् । कति मानिसहरू हर्टअट्याक भएर मरेका छन् ।
जति पनि बैंक तथा वित्तीय संस्था समस्यामा परेका छन्, सञ्चालक र उच्च व्यवस्थापकहरूले संस्था चलाउन नजानेर नै संस्था संकटमा परेका हुन् कि नियतवश संस्था डुबाएका हुन् ?Sanjib_Subba - Copy
जति पनि वित्तीय संस्था समस्यामा परेका छन्, ती संस्थाका सञ्चालकहरूको नियत नै खराब थियो । अञ्जानवश होइन । कुनै पनि संस्था अञ्जानमा समस्यामा परेको मेरो जानकारीमा छैन । त्यहाँ सञ्चालक वा व्यवस्थापकहरूले नियतवश बदमासी गरेका छन् । उनीहरूले छिटो कमाउने महत्वाकांक्षा बोकेर काम गरेका छन् ।
नियामक निकाय, नीति निर्माता, राजनीतिक नेतृत्व, लगानीकर्ता सबैले गल्ती गरेका छन् । देशको जीडीपी मात्र २० अर्ब डलर भएको समयमा २ सय ६ वटा बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स दिनु नै गल्ती थियो । गभर्नर डा. युवराज खतिवडाले लाइसेन्स दिनु गल्ती भएको स्वीकार गरिसक्नुभएको छ । बैकिङ बुझ्दै नबुझेका, जान्दै नजानेकालाई धमाधम बैंक खोल्न लाइसेन्स दिइयो । सञ्चालक समिति र व्यवस्थापक पूरै नयाँ आए । व्यवस्थापनमा प्रोफेसनल जनशक्ति ल्याएर बैंक चलाउने प्रयास गरेको देखिएन । एक÷दुईजना टाठाबाठाले सबैलाई घुमाई दिएर आफ्नो स्वार्थअनुरूप काम गरे । अधिकांश संस्थाका अध्यक्ष निरंकुश भएको पाइन्छ । प्राविधिक विषय सबैले नबुझ्ने, सञ्चालकहरूले ‘अध्यक्षज्यू जे गर्नुपर्छ तपाई नै गर्नुहोस्, हामी सही गरिदिन्छौं’ भनेर उनलाई सर्वेसर्वा बनाउने कल्चर रहेछ । यो अवस्थामा अध्यक्षको नियत ठिक भएको संस्था राम्रो भयो, अध्यक्षको नियत खराब भएको संस्था समस्यामा प¥यो ।
उच्च व्यवस्थापकहरू चाहिँ चोखा छन् ?
व्यवस्थापक पनि जिम्मेवार छन् । तर संस्थागत सुशासनको मुख्य जिम्मेवार सञ्चालक नै हुनुपर्छ । व्यवस्थापन समितिलाई चेक एन्ड ब्यालेन्स गर्न सञ्चालक समिति नै पहिले चोखो हुनुपर्छ । कार्यकारी प्रमुखले ए लेबलको बुझेको छ भने सञ्चालक समितिले ए प्लस वान लेबलको बुझेको हुनुपर्छ । कार्यकारी प्रमुखले ल्याएको प्रस्ताव ठिक छ कि परिमार्जन गर्नुपर्ने छ कि गलत नै छ भनेर बुझ्ने र निर्णय गर्ने क्षमता सञ्चालक समितिमा हुनैपर्छ । सीईओको क्षमताले नभ्याएको, सीईओलाई दिएको अख्तियारीभन्दा माथिको विषयमा निर्णय गर्ने अधिकार सञ्चालक समितिमा हुन्छ । नीतिगत निर्णय गर्ने पनि सञ्चालक समिति हो । त्यसैले सञ्चालक समितिसँग बैंक सञ्चालन गर्ने टेक्निकल ज्ञान हुनुपर्छ ।
ए प्लस वान लेबलको सञ्चालक समिति बन्न जनशिक्त छ नेपालमा ?
हो, त्यो लेबलको जनशक्ति छैन । छैन भनेर मात्र भएन, त्यो लेबलको जनशक्ति कसरी बोर्डमा पु¥याउने भनेर बैंकका सबै स्टेक होल्डरबीच बहस जरुरी छ । खासगरी राष्ट्र बैंक र लगानीकर्ताबीच यो विषयमा बढी छलफल हुनुपर्छ । जनशक्ति नै छैन भने किन लाइसेन्स बाँडियो ? बैकिङ बिजनेस बुझेकै छैन भने लगानीकर्ताले किन लगानी गरे ? त्यतिबेला सबै अन्धधुन्ध थिए भने अब कसरी सम्हाल्ने भनेर छलफल हुनुपर्छ । बैंकबाट कर्जा लिने व्यक्ति बैंकको सञ्चालक छ । यस्तो अवस्था संसारमा कहीँ पनि छैन । धेरै देशमा निक्षेपकर्ताबाट एकजनालाई बैंकको सञ्चालक बनाउने अभ्यास छ ।
नियामक निकाय राष्ट्र बैंक पनि बैंक सञ्चालकले कुनै पनि बैंकबाट कर्जा लिन पाइन्न भन्ने पक्षमा छ । तपाईले पनि बैकिङ नबुझेकाले बैंक चलाउँदा समस्या आएको औंल्याउनु भयो । त्यसो भए बैंकमा लगानी चाहिँ कसले गर्ने हो ?
लगानी गर्ने व्यवसायीले नै हो । तर बैंकिङ व्यवसाय अरु व्यवसायभन्दा फरक छ । बैंकको कच्चा पदार्थ भनेको निक्षेप हो । निक्षेपको मालिक निक्षेपकर्ता हो । बैंकको ब्यालेन्स सिटमा लगानीकर्ताको पुँजी २ अर्ब छ भने बैंकको दायित्व २० अर्ब रुपैयाँ हुन सक्छ । बैंक लगानीकर्ताले मात्र चलाउने होइन । बैंक सिस्टममा चलाउनुपर्छ । त्यसैले बैंकिङ सिस्टम बुझेकाले मात्र बैंकमा लगानी गर्ने हो ।
बैंकमा लगानी गर्ने लगानीकर्ताको चरित्र र क्षमता कस्तो हुनुपर्छ ?
सामान्यतया बैंकको प्रवद्र्धक व्यक्ति होइन, संस्था हुनुपर्छ । बैंकमा व्यक्तिगत लगानीकर्तालाई निरुत्साहित गर्नुपर्छ । भएका लगानीकर्तालाई पनि सम्मानजनक रूपमा बाहिर जाने मौका दिनुपर्छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीहरू जस्ता दीर्घकालीन पुँजी लिएका संस्थालाई बैंकको प्रवद्र्धक सेयर लिन प्रोत्साहित गर्नुपर्छ । सर्वसाधारणमा ३० प्रतिशत मात्र होइन, ५०/६० प्रतिशत सेयर दिन सकिन्छ । लगानीकर्ताले बैकिङ सिस्टम बुझेको हुनुपर्छ । लगानीकर्ता आफै सञ्चालक हुनुपर्छ भन्ने सोच भएका व्यक्तिले बैंकमा लगानी गर्नुहुँदैन । बोर्डमा बस्न प्रोफेसनल मान्छे नै चाहिन्छ ।
राष्ट्र बैंकले बैठक भत्ता पनि नियन्त्रण गरिरहेको छ, यसरी प्रोफेसनल मान्छे बोर्डमा केका लागि जाने ?
बैठक भत्ता त विकृति नै हो । लगानीकर्ता कम्पनीको बोनस पनि खाने, सञ्चालक समितिमा भत्ता पनि खाने । यो लगानीकर्ताका लागि सुहाउने अभ्यास होइन । विज्ञ सञ्चालक, सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने सञ्चालक, निक्षेपकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूले मात्र बैठक भत्ता लिन सुहाउँछ । विज्ञ सञ्चालकलाई तलब नै दिनुपर्छ ।
सीईओभन्दा डाइरेक्टर ट्यालेन्ट हुनुपर्छ पनि भन्नुभयो । डाइरेक्टरलाई तलब दिनुपर्छ पनि भन्नुहुन्छ । सीईओभन्दा ट्यालेन्ट व्यक्तिलाई डारेक्टर बनाउँदा कति पैसा तिर्ने नि ?
सीईओभन्दा एउटा डाइरेक्टर ट्यालेन्ट हुन्छ भन्न खोजेको होइन । सीईओ धेरै विषयमा दक्ष हुन्छ । तर बोर्डमा आउने सञ्चालकहरू एउटा एउटा विधामा अनुभवी हुनुपर्छ । फरक फरक क्षेत्रमा अनुभव हासिल गरेको ७ जनाको सञ्चालक समितिको निर्णय क्षमता एउटा सीईओको भन्दा परिपक्व हुनुपर्छ भनेको हुँ । तर मैले भनेजस्तो विज्ञ सञ्चालक बैठक भत्ता लिएर बोर्डमा जाँदैनन् । उनीहरूको लागि मासिक पारिश्रमिक नै चाहिन्छ । अहिले पनि बैंकको सञ्चालक हुन योग्य धेरै व्यक्तिहरू मैले देखेको छु । तर उनीहरू भत्ताको भरमा सञ्चालक हुन चाहँदैनन् र बोर्डमा गएका पनि छैनन् ।
विज्ञ सञ्चालकलाई तलब कसले दिने ?
विदेशमा त सञ्चालन खर्च शीर्षकबाटै विज्ञ सञ्चालकलाई पारिश्रमिक दिइन्छ । तर नेपालमा राम्रो मानिँदैन । त्यसैले सञ्चालकको संख्या घटाएर ७ जनाभन्दा बढी राख्नु भएन । लगानीकर्ताले पाउने लाभांशको एक वा दुई प्रतिशत रकम एउटा कोषमा जम्मा गर्ने । र, त्यसबाट विज्ञ सञ्चालकलाई तलब दिँदा राम्रो हुन्छ ।
बोर्डमा बस्नेले पारिश्रमिक लिने भनेपछि त दैनिक सञ्चालनको काममा नै संलग्न हुने जस्तो देखियो नि ? यो त कार्यकारी अध्यक्ष रहने प्रणाली जस्तै भएन ?
अरुलाई मेरो विचार पाच्य नहुन सक्छ । तर मलाई लाग्छ, भारतमा भइरहेको अभ्यास जस्तै कार्यकारी प्रमुखको जिम्मेवारी अध्यक्ष तथा प्रबन्ध निर्देशकलाई नै दिनुपर्छ । नेपालमा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नै अध्यक्षको जिम्मेवारी दिनुपर्छ । त्यसमा सञ्चालकहरूको भूमिका अध्यक्षलाई चेक एन्ड ब्यालेन्स गर्ने हुन्छ । अध्यक्षले गलत प्रस्ताव ल्याए भने रोक्ने क्षमता सञ्चालकहरूमा हुनुपर्छ ।
कार्यकारी प्रमुख सञ्चालक समितिमा पनि हावी भएको बैंकहरू नै समस्यामा परेका छन्, यो मोडल त असफल होइन र ?
जुन जुन बैंक तथा वित्तीय संस्था समस्यामा परे, ती संस्थामा अरु सञ्चालक विज्ञ थिएनन् । सीईओले जे प्रस्ताव ल्याए पनि पास गरे । त्यहाँ कार्यकारी प्रमुख निरंकुश भए । विज्ञ सञ्चालक भएको ठाउँमा सीईओ निरंकुश हुन सक्दैन । सीईओको प्रस्ताव सञ्चालकले परिमार्जन वा रोक्न सक्नुपर्छ ।
नेपालको बैंकिङ क्षेत्रमा सञ्चालकहरू दक्ष छैनन्, सञ्चालक हुन योग्य दक्ष जनशक्ति बजारमा पनि छैन, निष्कर्ष यही हो ?
हो । ‘म लगानीकर्ता हुँ, मैले बोर्डमा पनि बस्न पाउनुपर्छ, कर्जा जोखिम समितिमा पनि बस्न पाउनुपर्छ’ भन्ने सोच र अभ्यास दुवै हट्नुपर्छ । संस्थागत लगानीकर्तालाई अगाडि ल्याउनुपर्छ । विज्ञ सञ्चालकलाई प्राथमिकता दिनुपर्छ । सञ्चालक हुनलाई एउटा तालिम नै लिनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा कस्तो अभ्यास छ भने सञ्चालक समितिले जसलाई सञ्चालक नियुक्त गर्छ, उसले ‘इन्स्टिच्युट अफ डाइरेक्टर’ मा गएर केही हप्ताको कोर्ष पढ्नुपर्छ । लिडरसिप, कन्फ्लिक्ट म्यानेजमेन्ट र स्टार्टेजी विषयमा तालिम लिएपछि मात्र उसले सफलता ग्रहण गर्छ ।
सञ्चालक बन्ने हैसियत भएको मान्छेहरू त्यस्तो तालिम लिन जान्छन् ?
जानै पर्छ । विदेशमा यो बाध्यकारी व्यवस्था हो । नेपालमा पनि यस्तो व्यवस्था अनिवार्य गर्नुपर्छ । अहिले भएका सञ्चालकलाई ‘तिमीहरू अयोग्य छौं, घर जाओ’ भन्ने होइन, उनीहरूलाई तालिम दिनुप¥यो । तालिम दिने संस्था सञ्चालन गर्नुप¥यो ।
एनबीआईले सुशासनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ, त्यसले कस्तो नतिजा दिएको छ ?
सन् २०११ देखि हामीले संस्थागत सुशासनसम्बन्धी १०÷१२ वटा सेमिनार तथा गोष्ठी सञ्चालन गर्दै आएका छौं । पहिलाभन्दा अहिले धेरै चेत खुलेको छ । सञ्चालकहरूले पनि आफ्नो जिम्मेवारी बुझ्न थालेका छन् । उनीहरू पहिला ‘मेरो बैंक’ भन्ने सोचमा थिए । बैंक सेयरधनीको मात्र होइन भनेर हामीले धेरैलाई बुझाउन सफल भएका छौं । अहिले बैंक लगानीकर्ताको मात्र होइन, निक्षेपकर्ताको पनि हो, कर्मचारीको पनि, साना सेयरधनीको पनि हो भनेर बुझ्न थालेका छन् । केही सञ्चालकहरूले आफ्नै बैंकको वार्षिक प्रतिवेदन (ब्यालेन्स सिट) पनि नबुझेको अवस्थामा काम गरिरहेको पाइयो । राष्ट्र बैंकले पनि सेल्फ रेगुलेसनको अवधारणलाई अगाडि ल्यायो । अहिले त धेरै सुधार भएको छ । राष्ट्र बैंकले नियमन गर्छ, कम्पनी रजिस्ट्रारको कार्यालय छ, आन्तरिक अडिटर छ, बाहिरी अडिटर छ । सेल्फ रेगुलेसनलाई राष्ट्र बैंकले जोड दिएको छ । यस्तो अवस्थामा सबैलाई झुक्याएर काम गर्न सजिलो छैन ।
गएको पाँच वर्षमा सूर्य नेपाल गार्मेन्ट वाहेक एक करोड रुपैयाँ भन्दा बढी लगानी भएको कुनै पनि कम्पनी बन्द भएको छैन । तर यसैअवधिमा दुईवटा विकास बैंक खारेजी भयो । दुई वटा फाइनान्स खारेजी भयो । झण्डै आधा दर्जन बैंक फाइनान्स निक्षेपकर्तालाई पैसा फिर्ता दिन नसक्नेगरी समस्याग्रस्थ भए । यस पृष्ठभूमिमा बैंकिङ क्षेत्रमा संस्थागत सुधार भयो, अरु क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रमा सुशासन छ भनेर कसरी विश्वास गर्ने ?
जसरी बैकिङ क्षेत्र पारदर्शी र रेगुलेटेट छ, त्यसरी नै अरु क्षेत्रका कम्पनीहरूलाई पनि पारदर्शी र रेगुलेटेट बनाउने भने अरु क्षेत्रबाट पनि धेरै समस्या आउने थिए । हस्पिटल, स्कुल, कलेज, डेरी उद्योग वा सिमेन्ट उद्योगको नै कुरा गरौं । त्यहाँभित्र धेरै संस्थागत सुशासनका समस्या होलान्, बाहिर नआएका मात्र हुन् । यदि बैंकिङ क्षेत्र अपारदर्शी भएको भए, नियमन, अनुगमन नभएको भए आज नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स पनि नाफामा चलेको देखिन्थ्यो, क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स पनि चलिरहेको हुन्थ्यो, नेपाल विकास बैंक पनि खारेज हुँदैन थियो, गोर्खा विकास बैंकले पनि नाफा गरिरहेको हुन सक्थ्यो । र, कुनै समय यसरी समस्याको विस्फोटन हुने थियो कि बैंकिङ क्षेत्र पूरै तहसनहस हुनसक्थ्यो । त्यसलाई नियमित बनाउन अमेरिकामा जस्तै नेपाल सरकारले पनि ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था आउने थियो