दुई गोलले पछि परेको बेल्जियमको उत्कृष्ट पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको छ । रोमाञ्चक जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सिएटलमा सम्पन्न खेलमा सेनेगलले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै २४औँ मिनेटमा हाबिब डियार्राको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५१औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २-० ले अघि बढेको थियो र सहज जिततर्फ उन्मुख देखिएको थियो । तर खेलको अन्तिम पाँच मिनेटमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्यो । ८६औँ मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काएन । त्यसको तीन मिनेटपछि युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए । अतिरिक्त समय पनि बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको अन्तिम क्षणमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो । कप्तान टिलेमान्सले १२५औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३-२ को ऐतिहासिक जित दिलाएन । यो विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको विजयी गोलमध्ये एक मानिएको छ । खेलमा बेल्जियमले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २१ प्रहार गरेको थियो भने सेनेगलले १९ प्रहार गरेको थियो । दुवै टोलीका पाँच-पाँच प्रहार लक्ष्यमा थिए, जसले खेल कति प्रतिस्पर्धात्मक थियो भन्ने देखाउँछ । यो जितसँगै बेल्जियमले २०१८ विश्वकपमा जापानविरुद्ध गरेको ऐतिहासिक पुनरागमनको सम्झना ताजा गराएको छ । अब बेल्जियमले अन्तिम १६ मा अमेरिका र बोस्निया-हर्जेगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
डीआर कङ्गोलाई हराउँदै इंग्ल्यान्ड अन्तिम १६ मा
काठमाडौं । इंग्ल्यान्डले डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । एटलान्टा स्टेडियममा बुधबार सम्पन्न अन्तिम ३२ को प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो । खेलको सातौं मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै डीआर कङ्गोलाई अग्रता दिलाएका थिए । पहिलो हाफभर इंग्ल्यान्डले गोल फर्काउन नसक्दा डीआर कङ्गो १–० को अग्रतासहित ब्रेकमा गएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औं मिनेटमा बराबरी गोल गरे भने ८६औं मिनेटमा उत्कृष्ट प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । डीआर कङ्गोले उत्कृष्ट प्रतिरोध गरे पनि अग्रता जोगाउन सकेन । पराजयसँगै पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको डीआर कङ्गोको ऐतिहासिक यात्रा अन्त्य भएको छ । इंग्ल्यान्डले अब अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
शंकास्पद गतिविधिमा संलग्न नौ जना चिनियाँ नागरिक अध्यागमनको नियन्त्रणमा
काठमाडौं । ललितपुरको धोबीघाट र चोभारबाट १८ राहदानीसहित ९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ललितपुरको धोवीघाटस्थित एक घरमा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको छ। विभागबाट खटिएको टोलीले धोबीघाटबाट ३ जना र चोभारस्थित ट्रेजर्स प्रालिमा शंकास्पद गतिबिधिमा संलग्न अन्य ६ गरेर ९ चिनियाँलाई समेत नियन्त्रणमा लिएको अध्यागमन विभागले जनाएको छ । अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । धोबिघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएका थिए । विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए। तीमध्ये ४ जना व्यवसायिक भीसा र १८ जना पर्यटक भीसा मा रहेको पाइएको छ। सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी देखाएका थिए । बाँकी ४ जनाले राहदानी भिसा प्रयोजनका लागि कानुन व्यवसायीसँग रहेको बताएपछि अनुसन्धानका लागि १८ थान राहदानी नियन्त्रणमा लिइएको हो। घर ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा लिएको खुलेको ढकालले बताए । घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको उनले बताए । महिला र पुरुषलाई एउटै आवासमा राखिएको उनले बताए । आफूलाई होस्टल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको ढकालको भनाइ छ । चिनिया नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रालि तथा ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग आबद्ध भई कार्यरत रहेको खुलेको छ। उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ,’ ढकालले भने,’ घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।ले लिजमा सञ्चालन गरिरहेको खुलेको छ ।‘ कम्पनी नेपालीको नाममा दर्ता थियो । कम्पनीको आवरणमा उनीहरू शंकास्पद गतिविधिमा संलग्न रहेको उनको भनाइ छ । नेपाली सञ्चालकहरू मासिक पैसा दिएर चिनियाँहरूले ती कम्पनी प्रयोग गर्दै आएका थिए । कम्पनीका सञ्चालकले उनीहरूको कामबारे जानकारी नभएको बताएका छन्।