पेनाल्टीमा अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा इजिप्ट
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । यससँगै इतिहासमै पहिलो पटक इजिप्टले विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको हो । डलास स्टेडियममा भएको खेलमा इजिप्टले १३औं मिनेटमै इमाम आशुरको उत्कृष्ट हेडरमार्फत अग्रता लिएको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार दबाब सिर्जना गर्दै ५५औं मिनेटमा मोहम्मद हानीको आत्मघाती गोलको लाभ उठाएर खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि थप गोल निस्कन सकेन । पेनाल्टी सुटआउटमा भने इजिप्टका महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र हसम अब्देलमागुइदले सबै प्रहार गोलमा परिणत गरे । अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले ४–२ को जित हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो । खेलभर अष्ट्रेलियाले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । इजिप्टका कप्तान मोहम्मद सलाहले गोल गर्न नसके पनि टोलीको आक्रमण र पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण भूमिका निभाए । यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण जित्दै अन्तिम १६ को यात्रा तय गरेको छ भने अष्ट्रेलियाको अभियान अन्तिम ३२ मै समाप्त भएको छ ।
अर्जेन्टिनाको संघर्षपूर्ण जित, काबो भेर्डेलाई हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै काबो भेर्डेलाई खेलमा फर्काए । अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर काबो भेर्डेले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालमार्फत बराबरी गोल गर्यो । खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिइरहेका बेला १११औँ मिनेटमा डिनेले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो र त्यसैलाई कायम राख्दै जित हात पार्यो । विश्व वरीयतामा निकै पछि रहेको काबो भेर्डेले साबिक विश्वविजेतालाई अन्तिम क्षणसम्म कडा चुनौती दिँदै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्यो । यो जितसँगै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।
कारागारमा सहकर्मी प्रहरीको गोली चल्दा अर्का प्रहरी घाइते
काठमाडौं । सप्तरीको राजविराजस्थित कारागारमा ड्युटी रहेका एक प्रहरी जवान गोली लागेर घाइते भएका छन् । सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा अर्का सहकर्मी घाइते भएका हुन् । बुधबार मध्य राति कारागारमा सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका कारागार प्रशासन प्रमुख रुपक मण्डलले जानकारी दिए । ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआरबाट एक्कासि गोली चलेको थियो। गोली यादवको कम्मरमाथिको ढाडमा लागेको थियो । भित्तामा फर्केर आएको गोली लागेको उनको भनाइ छ । हाल उनलाई धरानस्थित वीपी प्रतिष्ठानस्थित घोपा क्याम्प उपचार भइरहेको छ । घटनापछि गोली चलेको एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।