काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ ।
परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबैमा आग्रह गरेको हो ।
परिसंघले कुनै पनि समस्या वा असन्तुष्टिको समाधान वार्ता र संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आन्दोलन, हिंसा वा मुठभेडबाट समस्या समाधान नहुने जनाएको छ । त्यसैले शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।
परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेकाले यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय र रोजगारी सिर्जनामा नकारात्मक असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
साथै, सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न तथा सद्भाव प्रवर्द्धन गर्न अन्य संघसंस्थासँग सहकार्य गरी सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघ र निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।