प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार रुपैयाँ बराबरको ‘आइफोन’ बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।  प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।   

४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं  । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।  बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।  अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो । पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे । यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जापानलाई पराजित गर्दै विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौं । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको  ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।