कुसोमको रोजगार मेला सुरु हुँदै, सहभागिताका लागि ३ गतेसम्म कम्पनी दर्ता गर्नुपर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) प्लेसमेन्ट सेलले यही साउन २४ र २५ गते रोजगार मेला गर्ने भएको छ । कुसोम जब तथा इन्टर्नसिप फेयर (केजेआईएफ) ललितपुरको बालकुमारीस्थित कुसोम परिसरमा हुनेछ । विद्यार्थी र रोजगारदातालाई एउटै मञ्चमा ल्याउन यसपालि पनि मेलालाई निरन्तरता दिन लागेको कुसोम प्लेसमेन्ट सेलले जनाएको छ । कम्पनीका अनुसार मेलाले विद्यार्थीलाई आफ्नो क्षमता र दक्ष प्रदर्शन गर्न तथा कम्पनीको प्रत्यक्ष सम्पर्कमा आउन अवसर प्रदान गर्नेछ । मेलामा कुसोमका स्नातक र स्नातकोत्तर विद्यार्थीले प्रतिष्ठित कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघा गर्ने अवसर पाउनेछन् । विद्यार्थीलाई करियरको सही सुरुवात गराउनु र कम्पनीहरुलाई प्रतिभाशाली कर्मचारी चयनमा सहयोग गर्नु मेलाको मुख्य उदेश्य रहेको छ । मेलामा सूचना प्रविधि, उत्पादन, बैंकिङ, अर्थशास्त्र लगायत विभिन्न क्षेत्रका कम्पनीको सहभागिता रहनेछ। सिप्रदी ट्रेडिङ, इन्फोडेभलपर्स, वरुण बेभरेजेस, लिपफ्रग, बिजनेस ब्रेन्ज जस्ता कम्पनी सहभागी हुने सुनिश्चित भइसकेको छ। इच्छुक कम्पनीले मेलामा सहभागिताका लागि साउन ३ गतेसम्म दर्ता गराइ सक्नुपर्ने कम्पनीले बताएको छ ।

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ । महानिर्देशकस्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आग्रह गरिएको हो । विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् । नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ ९दोस्रो संशोधन २०७१० को दफा १६ को उपदफा (२० तथा ९३) बमोजिम सूचीकृत हुन १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो । यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।

काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् । प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् । काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो । त्यस्तै यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनले बताएका छन् । मेयर शाहले लेखेका छन्,‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’ महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवतीहरू रोजगार/स्वरोजगार भएको पनि मेयर शाहको दाबी छ ।