परिश्रम गर्ने युवालाई दैशमै अवसर, अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी
ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन् । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । छ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गरेकाका कार्की खेती विस्तार गर्ने योजनामा छन् । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन् । करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए । प्रतिकिलो दुई सय रुपैयाँमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउछन् । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् । ‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।’ कार्कीलाई उनकी श्रीमती सन्दीपाले साथ दिँदै आएका छन् । चार वर्षदेखि बाख्रापालन गर्दै आएकी कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएकी छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछिन् । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउँछन् । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् । प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उनीहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’ रासस
स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली
राँझा । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुगेका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किएका छन् । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए । नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ । ‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’ दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए । रासस
९ लाख १९ हजार युवा कोरिया जान इच्छुक, १ लाख बढीले पाए रोजगारी
काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन ९ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म ९ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका हुन् । सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी १ लाख ९९ हजार ११३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म ५ लाख ४८ हजार ७७१ जना भाषा परीक्षामा सहभागी भएका छन् । एक लाख बढीले पाए रोजगारी इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने संया लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार ३१० पुरुष र ७ हजार २४३ महिला गरी १ लाख ५ हजार ५४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेको इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् । इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षको अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो ७ महिनाभित्र ४ हजार २८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ । नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो । अन्य रोजगार गन्तव्यका तुलनामा दक्षिण कोरियामा अनधिकृत रूपमा बस्ने नेपाली श्रमिकको संख्या न्यून छ । दक्षिण कोरियामा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबाट नेपालले अन्य गन्तव्यका तुलनामा कम सामाजिक मूल्य चुकाउनुपरेको छ । दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब १ हजार ३५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरु अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ । दक्षिण कोरियाले सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको निर्देशक कँडेल बताउँछिन् । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ । इपिएस प्रणालीका चुनौती भाषा परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन बुझाएर रोष्टरमा रहेका युवालाई दक्षिण कोरियामा रोजगारीको प्रबन्ध मिलाउन चुनौती देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि हालसम्म ४२ हजार ५९ जना रोष्टरमा रहेकामा १८ हजार २० जनामात्र रोजगारदाताको छनोटमा पर्न सफल भएका छन् । भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । बाँकी २४ हजार ३९ जना हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न नसकेको शाखाको तथ्यांक छ । सेवा क्षेत्रमा रोष्टर परिवर्तन गराई ६९१ जनालाई रोष्टरमा राखिएकामा सातजना मात्र रोजगारदाताको छनोटमा परेको शाखाले जनाएको छ । शाखाका निर्देशक कँडेल उत्पादन, कृषि तथा पशुपालन, पानीजहाजजस्ता क्षेत्रसँगै वन र सेवा क्षेत्रमा बढीभन्दा बढी कामदार पठाउन पहल गर्नुपर्ने धारणा राख्छिन् । भाषा परीक्षाको वार्षिक कार्यतालिका स्वीकृत गरी अनुमानयोग्य बनाइनुपर्ने तथा परीक्षा उत्तीर्ण र दक्षिण कोरिया जान पाउने सङ्ख्याबीचको सामञ्जस्यता मिलाउनेतर्फ कूटनीतिक पहल लिनुपर्ने उनको सुझाव छ ।