इजरायलमा ८ सय कामदारका लागि आवेदन खुल्यो, को-को जान पाउँछन् ?
काठमाडौं । इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना प्रकाशित गरी दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि ८ सय जनाको लागि आवेदन खुला गरेको हो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको हो । विभागका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागु हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिने सूचनामा उल्लेख छ । ८ सय जना माग भएका मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेका र तीन सय जनालाई वैकल्पिकमा राखिने बताइएको छ । २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएका, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेका वा १२ कक्षा पास भएकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । यस काममा जानेको मासिक तलब ५ हजार ८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।
क्याप्टेन थप्दै यती एयरलाइन्स, २ हजार घण्टा उडान अनुभवीले आवेदन दिन सक्ने
काठमाडौं । यती एयरलाइन्स लिमिटेडले क्याप्टेन मागेको छ । मंगलबार एक सूचना जारी गर्दै यती एयरलाइन्सले लाइन क्याप्टेन मागेको हो । एटीआर७२–५०० तथा एटीआर७२–६०० जहाजको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै एटीआर७२–५०० तथा एटीआर७२–६०० एयरक्राफ्टमा लाइन क्याप्टेनको रूपमा न्यूनतम २ हजार घण्टा उडान गरेको अनुभव हुनु पर्नेछ । इच्छुक योग्य व्यक्तिले १५ दिन अर्थात् असार २५ गतेभित्र आफ्नो व्यक्तिगत विवरण कम्पनीको इमेल [email protected] मा सीभी लगायत अन्य कागजातहरू पठाउन सक्नेछन् । सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र छनोटका लागि बोलाइने कम्पनीको भनाइ छ । थप जानकारीका लागि कम्पनीको मानव संसाधन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा
चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् । हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण–क्षेत्री परिवारका छन् । ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए । महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।