आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी असार २५ गतेभित्रै कमला पुल सञ्चालन हुने गरी काम गर्न निर्देशन दिएका छन् । शनिबार (आज) पुलको अनुगमन गर्दै उनले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्णरूपमा सम्पन्न गरी महिना दिनभित्रै पुल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।  मन्त्री लम्सालले पुल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेकाले कुनै समस्या नहुने स्पष्ट पारे । निरीक्षण टोलीमा सिरहा-१ का सांसद बब्लु गुप्ता, क्षेत्र नं २ का सांसद शिवशङ्कर यादव, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यसअघि स्थानीय बासिन्दाले आव २०८३/८४ को बजेटमा सरकारले कमला पुलको पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै गुनासो पोख्दै आएका थिए । पुल समयमै नबन्दा यस क्षेत्रका जनताले वर्षौंदेखि आवतजावतमा सास्ती भोग्दै आएका छन् । स्थानीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिकाका सभापति सन्तोष यादवले मन्त्री लम्सालको निर्देशनबारे जानकारी दिँदै भने, 'मन्त्रीले कमला पुलको निरीक्षण गरी ठेकेदारलाई काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उहाँले आर्थिक समस्या नहुने भन्दै प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएकाले स्थानीयमा केही आशा जागेको छ । पुल निर्माण भएमा वर्षौंदेखिको सास्ती हट्ने छ ।' विसं २०६८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम गरिएकामा पटकपटक म्याद थपेर विसं २०७८ असारमा पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । लगत्तै सोही असारमा आएको बाढीले दुई वटा पिलर भासिएर चार वटा स्ल्याबमा गम्भीर क्षति पु¥याएपछि पुल सञ्चालनमा आउन सकेन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले आगामी असार मसान्त अर्थात्  तोकिएको समय सीमाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको बताए ।   

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।  केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार (आज) झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन् ।  यस्तै, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भएका छन् । पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उक्त अभियानमा सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोगले स्पष्ट पारेको छ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।  जेठ २४ गते उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर,  तनहुँ, नवलपुर, गोरखा र लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ ।   विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनाएको छ । सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए ।  प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । यससँगै रास्वपाको मुख्य सङ्गठन रहेका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने आयोगका प्रमुख केसीको भनाइ छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । जिल्ला अधिवेशन र साङ्गठनिक अद्यावधिक अवस्थाबारे निर्वाचन आयोगका प्रमुख केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण खुड्किला भएका बताए ।  “हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मानेर नेतृत्व दाबी गर्ने प्रवृत्तिको अन्त्य स्वच्छ निर्वाचन प्रक्रियाबाटै हुनेछ । यसका लागि प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरी निष्पक्ष मतदानको सुनिश्चितता गरिएको छ”, उनले भने ।

४ हजार २ सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ४ हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।  थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन् । आज र भोलि (शनिबार र आइतबार) रास्वपाको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए ।  यही जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिए ।