संसद् अवरोधबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । संसद्को जारी अवरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्नुपर्ने, अन्यथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । यही विषयमा सहमति खोज्न र संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सर्वदलीय बैठक बोलाइएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई बैठकमा निमन्त्रणा गरिएको भए पनि अधिकांश शीर्ष नेताहरू भने बैठकमा सहभागी भएका छैनन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी छन्। रास्वपाबाट सभापति रवि लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य दीपक बोहरा उपस्थित छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पनि बैठकमा सहभागी छन् । संसद्को अवरोधका कारण विधेयक तथा अन्य संसदीय कामकारबाही प्रभावित भइरहेका बेला दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक आयोजना गरिएको हो। बैठकबाट संसद्को गतिरोध अन्त्यका लागि साझा निष्कर्ष निकाल्ने प्रयास हुने बताइएको छ। बैठक जारी रहेको र त्यसबाट निस्कने निष्कर्षले संसद्को आगामी कार्यसूची तथा राजनीतिक सहमतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

रविले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेता अनुपस्थित, हर्कको बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । सिंहदरबारमा आयोजित बैठकमा विभिन्न दलका प्रतिनिधिहरू उपस्थित भए पनि शीर्ष नेताहरु भने सहभागी नभएका हुन् ।  बैठकका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायत दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको भए पनि उनीहरू स्वयं उपस्थित भएनन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेको तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर तथा नेकपा तर्फबाट पार्टीका सहसंयोजक माधवकुमार नेपाल सहभागी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरू बैठकमा अनुपस्थित रहे । यद्यपि दलहरूले आफ्ना प्रतिनिधिहरू पठाएर बैठकमा सहभागिता जनाएका छन् ।  यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा सहभागी भएनन् । उनले आफू पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेको बताएका छन् । श्रम संस्कृति पार्टीको तर्फबाट समेत कुनै प्रतिनिधि बैठकमा उपस्थित भएका छैनन् ।  भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएपछि लामिछानेले समसामयिक राजनीतिक विषयमा प्रमुख दलहरूसँग संवाद र परामर्शका लागि बैठक आयोजना गरेका हुन् ।  रास्वपाका सभापति लामिछाने भारत भ्रमणपछि राजनीतिक संवादलाई तीव्र बनाउन खोजिरहेका बेला आयोजित यो बैठकले आगामी दिनमा दलहरूबीचको सम्बन्ध र सहकार्यको दिशा कस्तो बन्छ भन्ने विषयमा थप चासो उत्पन्न गरेको छ ।   

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक, संसद्मा रहेका सबै दललाई निम्तो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सो बैठक आह्वान गरिएको हो ।  बैठक सोमबार (भोलि) बिहान ९ः०० बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ ।  उक्त सर्वदलीय बैठकमा सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।  बैठकमा सहभागी हुन प्रत्येक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिहरूलाई अनुरोध गर्दै सूचनासहितको निमन्त्रणा पठाइसकिएको रास्वपाले जनाएको छ ।  सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच समसामयिक राजनीतिक मुद्दाहरूमा घनीभूत छलफल गरी निकास पहिल्याउन यो बैठक महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।