राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भोलि बस्दै, यस्ता छन् मुख्य कार्यसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । भोलि अर्थात् वैशाख ६ गते आइतबारका लागि बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा दिनको ३:३० बजे बस्ने उक्त बैठकमा पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ । बैठकका लागि विभिन्न महत्त्वपूर्ण एजेण्डाहरू तय गरिएका छन्, जसमध्ये जिल्ला अधिवेशन कार्यविधि २०८३ र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन मुख्य रहेका छन् ।  यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिनेछ ।

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघिबढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए । 'हिजोको दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने जिम्मा  शेरबहादुर देउवामा थियो । अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकोमा छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको जिम्मामा छ,' उनले भने । पार्टीका नेता डा. प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुङ्गो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे । नेता महतले पार्टीको १५औं महाधिवेशन गर्नका लागि दुवै समूहलाई सहभागिता गरेर साझा संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने धारणा बैठकमा उठेको बताए । पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।   

उच्च ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सरकारको प्राथमिकतामा छ- मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएका छन् । गोँगबु आवास क्षेत्र सुधार समितिले शनिबार आयोजना गरेको ‘नयाँ वर्ष-२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताए ।  मन्त्री खनालले भने, ‘जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका छन्, वर्तमान सरकारले यसलाई खेर फाल्दैन । रास्वपाले वाचापत्रमा उल्लेख गरेअनुसार सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम  गर्छौं ।’ उनले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गरे ।  परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताए ।  ‘हामीले जनताले परिवर्तनको अनूभूति गर्नेगरी काम गरिरहेका छौं । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।’ काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।