प्रधानमन्त्री बालेन्द्र शाह नआए संसद बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैले दिनुपर्ने धारणा कांग्रेस नेता अर्जुननरसिंह केसीले राखे ।  उनले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाए ।  नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताए ।  सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरूले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराए ।

एमाले नेता थापाको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।  प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् । नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाएका थिए । लगत्तै रास्वपा नेता मनिष खनालले थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । एमाले नेता थापाले  रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताएका थिए ।  

एलएस होराइजन– १२ को १ अर्ब २० करोडको इकाइ निष्कासन

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले बुधबारदेखि नयाँ म्युचुअल फण्ड योजना ‘एलएस होराइजन– १२’ को सार्वजनिक निष्कासन सुरु गरेको छ ।  क्यापिटलले प्रति इकाइ १० रुपैयाँ अंकित मूल्यका दरले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो ।  यस कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  यो निष्कासन छिटोमा जेठ ४ गतेसम्म बन्द हुनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेमा जेठ १३ गतेसम्म समय थप हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।  एलएस होराइजन(१२ एक बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो ।