कपिलवस्तुमा ५४ मतदानस्थल अतिसंवेदनशील

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कपिलवस्तुमा ५४ वटा निर्वाचनस्थल अतिसंवेदनशील रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले यस जिल्लामा ५० मतदानस्थल संवेदनशीलको सूचीमा रहेको जानकारी दिए । उनका अनुसार सामान्य मतदानस्थल ७९  र संवेदनशील मतदान केन्द्र १०२ वटा छन्। कपिलवस्तुमा २३५ वटा मतदानस्थल र ४९० वटा मतदान केन्द्र छन् । कपिलवस्तुमा कुल मतदाता ३ लाख ९६ हजार २६५ मतदाता रहेको सूचना अधिकारी सिंहले जानकारी दिए ।  १ लाख ८४ हजार ४१५ महिला र २ लाख ११ हजार ८४६ पुरुष मतदाता तथा ४ जना अन्य मतदाता रहेका छन् ।

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगञ्ज । आसन्न प्रतिनिधिसभाको  निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये  ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।  भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेको जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वटा संवेदनशील तथा २८ वटा सामान्य मतदानस्थलका रूपमा रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए । एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनलाई  मर्यादित र भयरहित रूपमा सम्पन्न गर्नका लागि  निर्वाचन लक्षित  सुरक्षा व्यवस्था निर्माण गरिएको बताए । उनले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताए।  मतदानको केही दिनअघिबाटै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।  उनले अस्थायी मतदाताको नामावली सङ्कलन कार्य जारी रहेको उल्लेख गर्दै अस्थायी मतदान केन्द्रका विषयमा निर्णय नभएको बताए । अस्थायी मतदाताको करिब ७० प्रतिशत नामावली सङ्कलन भएको शाहीको भनाइ छ । अस्थायी मतदाताले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा मात्रै मतदान गर्न पाउने छन् । 

कांग्रेसले चुनावकेन्द्रित समितिहरू गठन गर्न परिपत्र गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न प्रदेश, जिल्ला र क्षेत्रीय तहका १६५ वटै कार्यसमितिलाई परिपत्र गरेको छ । पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बुधबार (आज) विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न निर्देशन दिदै परीपत्र गरिएको प्रवक्ता देवराज चालीसेले जानकारी दिए।  उनले परिपत्रमार्फत निर्वाचन अभियान व्यवस्थित गर्न सबै तहमा समितिहरू र संरचनाहरू तत्काल गठन गर्न आग्रह पनि बताए । परिपत्रमा कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति र स्थानीय तह समन्वय समिति गठन गर्न निर्देशन गरेको छ । यसैगरी, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति पनि कांग्रेसले गठन गर्ने जनाइएको छ । कांग्रेसले हालै १६५ क्षेत्रमै आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न चुनावी तयारीलाई तीव्र पार्नसमेत निर्देशन गरेको छ ।