असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौं । काठमाडौंको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको जानकारी दिए । “ठमेल क्षेत्रमा हुँदै आएको अव्यवस्थित सवारीलाई कडाइ गरेपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आवतजावतमा सजिलो भएको छ”– प्रमुख खनालले भने । ठमेल क्षेत्रको अव्यवस्थित सवारी आगमनलाई कडाइ गरेपछि सुरक्षा, पर्यटक, एम्बुलेन्स, दमकलगायतका अत्यावश्यक सवारी साधनलाई आवतजावतमा सहज भएको छ । ठमेल क्षेत्रभित्र घर भएका घरधनी र व्यवसाय गर्ने व्यवसायीलाई ठमेलभित्र भित्रिनका लागि प्रवेश पास वितरण गर्ने कामसमेत शुरु भएको छ । रासस

तीन बर्ष नपुग्दै चार सिइओले जागिर खाए, भूकम्प पीडितले के पाए ?

काठमाडौं । भूकम्पपछिको पुननिर्माणका लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले तीन बर्षमै तीन जना सिइओ(प्रमुख कार्यकारी अधिकृत) पाएको छ । सुरुमा तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले अध्यादेश मार्फत गठन गरेको प्राधिकरणको सिइओमा प्रा.डा. गोविन्दराज पोखरेल नियुक्त भएका थिए । संसदले राष्ट्रिय पुननिर्माण प्राधिकरण ऐन पारित गरेपछि केपी ओली नेतृत्वको सरकारले पोखरेललाई हटाएर सुशिल ज्ञवालीलाई सिइओ नियुक्त गर्यो । ओली सरकार ढालेर काँग्रेस माओवादी गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बने । उनले ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई पुनःसिइओ नियुक्त गरे । पोखरेलले प्राधिकरणमा आफ्नो दोश्रो इनिङ सम्हालेपछि पुननिर्माणले गति लिने अपेक्षा गरिएको थियो । तर पोखरेलको दोश्रो इनिङले राम्रो सुरुवात गर्न सकेन् । दोश्रो पटक सिइओ बने लगत्तै पोखरेलले पुननिर्माणको कामलाई भन्दा पनि राजनीतिक गतिबिधीलाई बढि ध्यान दिए । उनले प्युठानमा चुनाव लड्ने योजनासहित नेपाली काँग्रेसको राजीनितक गतिबिधीमा बढि केन्द्रित हुन थाले । अन्तिममा डा. पोखरेल प्युठानबाट उम्मेदवारका लागि सिफारिस भए र उनले प्राधिकरणबाट राजीनामा पनि दिए । पोखरेलको राजीनामा लगत्तै बसेको मन्त्रिपरिषद बैठकले युवराज भुषाललाई प्राधिकरणको नयाँ सिइओ नियुक्त गरिसकेको छ । सिइओ नियुक्त भएका भुषाल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् । अब भुषालले पुननिर्माण प्राधिकरणको चौथो सिइओका रुपमा कार्यभार सम्हाल्नेछन् । पाँच बर्षभित्रै पुननिर्माणको सबै काम सक्ने योजनासहित पुननिर्माण प्राधिकरण गठन भएको थियो । तर हालसम्म पुननिर्माणको कामले खासै गति लिन सकिरहेको छैन् । सम्पदाहरुको पुननिर्माणले खासै उपलब्धि पाएको छैन भने नीजी घर निर्माणमा पनि ठोस प्रगति भएको देखिन्न । कति भयो त पुननिर्माण ? प्राधिकरणका प्रवक्ता यमलाल भुषाल भन्छन–‘हामीले पाँच बर्षको रोडम्याप बनाएर काम थालेका थियौं, ठ्याक्कै यति प्रतिशत काम सकियो भन्ने अवस्था छैन तर पुननिर्माण सन्तोष जनक नै छ ।’ उनले विकास बुझेका व्यक्तिहरुको नियुक्तीका कारण सिइओ फेरिए पनि काम गर्न असहज नभएको प्रतिक्रिया दिए ।‘विकास निर्माण बुझेका व्यक्तिहरु नै सिइओ भएर आउने भएकाले काम गर्न अप्ठेरो परेको छैन, हामी आफ्नै गतिमा काम गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता भुषालले भने । कहाँ पुग्यो पुननिर्माण ? हालसम्म ६२ हजार १ सय ८९ भूकम्प पीडितहरु नयाँ घरमा बनाएर बसिरहेका छन् । ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितमध्ये ६ लाख ४१ हजार ३ सय १० परिवारले अनुदान सम्झौता गरेका छन भने ६ लाख २० हजार ६ सय ४६ परिवारले पहिलो किस्ताको रकम लगेका छन् । १ लाख ४७ हजार ३ सय ८० घर धमाधम निर्माण भैरहेका छन् ।

चावहिल-दक्षिणढोका र जोरपाटी-सुन्दरीजल सडक मंसिरदेखि मर्मत हुने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले चावहिल-दक्षिणढोका तथा जोरपाटी-सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी-सुन्दरीजल सडक र चावहिल-दक्षिणढोका-साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका छन् । जोरपाटी–सुन्दरीजल सडक भने मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र र सुरुङ निर्माण गर्न लगिने निर्माण सामग्री बोकेका गह्रुङ्गा सवारी साधनका कारण बिग्रिएको हो । नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग २०७४ कात्तिक १ गते चावहिलदेखि दक्षिणढोका र जोरपाटी चोकदेखि सुन्दरीजल बसपार्कसम्मको सडक मंसिर महिनाको प्रारम्भसँगै मर्मत गर्ने सम्झौता गरेको प्रमुख सन्तोष चालिसेले बताए । रासस