केरुङ-काठमाडौं रेलमार्गलाई कसैले रोक्न सक्दैनः जनार्दन ढकाल
रसुवा । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले केरुङबाट काठमाडौं आइपुग्ने रेलमार्गलाई कसैले रोक्न नसक्ने बताएका छन् । रसुवामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उनले दुनियाँको कुनै शक्तिले केरुङ काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलाई रोक्न नसक्ने बताएका हुन् । उनले केपी ओलीको सरकारका बेलामा भएका दिर्घकालिन महत्वका सम्झौताहरु कार्यान्वयन गर्न र नेपाललाई समृद्ध बनाउन वाम गठबन्धनलाई दुई तिहाई बहमत आवश्यक रहेको बताए । नेता ढकालले केरुङ मार्गलाई अन्तर्राष्ट्रिय मार्ग बनाइसकिएकाले अब रसुवाको पनि समृद्धिको ढोका खोलीएको बताए । रसुवागढी नाकालाई प्राथमिकतामा राख्न र चीनसँगको व्यापार रसुवागढीबाट हुने वातावरण बनाउन आफुले महत्वपुर्ण भुमिका खेलेको बताए । नेता ढकालले रसुवाबाट अन्तर्राष्ट्रि नाकाको ढोका खोलिएको उल्लेख गर्दै अब बन्ने वाम गठबन्धनको सरकारले रसुवालाई उच्च प्राथमिकता दिने बताए । नेता ढकालले भूकम्प पछिको पुननिर्माण, राहत वितरण र उद्दारमा आफुले खेलेको भुमिका रसुवाबासीले सम्झिरहेको उल्लेख गर्दै आफ्नो विजय निश्चित भएको दाबी गरे । नेता ढकालले रसुवाबासीले विकास र समृद्धि चाहेको उल्लेख गर्दै आफुसँग रसुवा विकासमा स्पष्ट भिजन रहेको पनि बताए । ढकालले वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन पनि रसुवाबासीसँग आग्रह गरेका छन् ।
याङग्री र लार्केका लागि परामर्शदाता छान्ने काम अघि बढ्यो
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनौट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको हो । यी कम्पनीहरुसँग प्राबिधिक र वित्तिय प्रस्ताव माग गरिएको छ । आयोजनाले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई तोकिएको मिति भित्रै वित्तिय र प्राबिधिक प्रस्ताव पेश गर्न भनेको हो । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार अहिले छनौट गरिएको परामर्श दाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनौट हुने एउटा परामर्श दाता कम्पनीले आगामी पाँच बर्षसम्म काम गर्नेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दै, चीनले करिब २१ अर्ब ऋण दिने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीर्व रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप-प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गरेका थिए । चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस