भूकम्पले क्षति पुर्याएका ९०४ खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न
काठमाडौं । भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि रु एक अर्ब १० करोड बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए । आयोजना पुनःनिर्मााणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ । रासस
पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र, चारवटा प्याकेज सहित मर्मत शुरु
पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र रुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वषौं देखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार राजमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताए । अहिले चारवटा प्याकेज बनाएर राजमार्ग मर्मत सम्भारसहित विस्तार गर्न थालिएको भाटले बताए। बहत्तर किलोमिटर लामो पोखरा–बागलुङ सडक तीन वर्षमा धेरैजसो भाग पूरै नयाँ बन्नेछ । “पोखरा–बागलुङ राजमार्ग निकै नै अप्ठेरो भएको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो” भाटले भने, “अबको तीन वर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ । दोहोरो सवारी साधन चल्न मिल्ने गरी सडकले आकार लिनेछ ।” राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि शुरु भएको थियो । भाटका अनुसार यो आयोजना पोखराबाट शुरु हुनेछ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँ पुलसम्मको करिब २५ किलोमिटरलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमी) लाई अर्को खण्डमा बाँडेर मर्मत सम्भार र विस्तार गर्न थालिएको छ । उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ लेनको सडक तयार हुनेछ भने फेँदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ । फेँदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ । यो सडक विस्तार र स्तरोन्नति गर्न करिब रु तीन अर्ब ३२ करोड लाग्ने भएको छ । चारवटा निर्माण कम्पनीले काम गर्न थालेको भाटले जानकारी दिए । कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन पनि समस्या रहेकाले विस्तारमा समय लाग्नसक्ने बताइएको छ । धेरै नै पहिले राजमार्ग बनिसकेकाले अहिले विस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । “पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर मापदण्ड तोकिएको थियो । यो राजमार्ग पछिल्लो समय भाँसिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०÷५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन् । विस्तारको क्रमसँगै सवारी साधनको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको बताइएको छ । रासस
अर्को वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन, पुन:निर्माणमा साढे ३ खर्ब अपुग
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रकम आवश्यक हुने भएकाले प्राधिकरणले दाता सम्मेलन गर्न लागेको रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । पुनःनिर्माणका लागि चालू आवसम्म रकमको कुनै अभाव नहुने उनको भनाइ थियो । भूकम्पबाट करिब सात खर्बको नोक्सानी भए पनि पुनःनिर्माणका लागि झन्डरु नौ खर्ब चाहिने प्राधिकरणको प्रक्षेपण रहेको बताउँदै उहाँले भन्नुभयो, “हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौँ, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ ।” चालू आवमा चुनावका कारण बैंकमा समेत पैसाको अभाव रहेकाले विभिन्न बैंकसँग अनुदान दिनेबारे छलफल भइरहेको जानकारी दिँदै उनले भने, “हामी उहाँहरुसँग चरणबद्ध छलफलमा छौँ, ७५३ वटै स्थानमा बैंक शाखा खोल्नुपर्ने प्रावधान छ, उहाँहरुले सबैको सुरक्षा र प्रत्याभूति खोज्नुभएको छ, अहिले छलफल चलिरहेको छ ।” भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये १३१ स्थानीय तहका एक हजार १९६ वडामा प्राविधिक खटाइएको जनाइएको छ ।रासस