गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

काठमाडौं । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने । ३५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए । रासस

गल्छी-त्रिशूली सडक अब दिउँसोमात्र बन्द, सडक स्तरोन्नतिको कामलाई तीव्रता दिने

नुवाकोट । चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी-त्रिशूली-मैलु-स्याफ्रुबेँशी-रसुवागढी सडक योजनाले जनाएको छ । यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । रासस

सुरक्षित काठमाडौं बनाउने उपाय सिक्न विद्या सुन्दर जेरुसेलममा

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य इजरायलको राजधानीमा जेरुसेलम गएका छन् । अमेरिकी कंग्रेसको आयोजनामा फेव्रुवरी ११ देखि १५ तारिखसम्म इजरायलको राजधानी जेरुसलममा हुने मेयर सम्मेलनमा भाग लिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मासहित मेयर शाक्य त्यतातर्फ प्रस्थान गरेका हुन । प्रस्थान गर्नु अघि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए । पौष ३ गते नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले मेयर शाक्यलाई मेयरमा सम्मेलनको निम्ता गरेका थिए । यस बर्षको सम्मेलन सुरक्षित सहर (सेफर सिटी) का विषयमा केन्द्रीत हुनेछ । मेयर शाक्य फागुन ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।