निजगढ विमानस्थल निर्माण अघि बढाउने, एक बर्षमा भैरहवा र तीन बर्षमा पोखरा विमानस्थल तयार पार्ने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो । त्यस बाहेक आगामी एक बर्षभित्रै भैरहवा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले निर्धारण गरेको छ । त्यस बाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता अभिवृद्धि र देशभै भरका आन्तरिक विमानस्थलहरुमा कालोपत्रे गर्दै जाने योजना पनि अघि सारिएको छ ।
टेकु-कालीमाटी जोड्ने बिष्णुमतिमा नेवारी संस्कृति झल्कने सिग्नेचर पुलः साँझ/बिहान धार्मिक धुन बज्ने
काठमाडौं । काठमाडौंको व्यस्त सडक टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा सिग्नेचर पुल बन्ने भएको छ । सडक विभागले टेकु–कालीमाटीमा पर्यटकिय दृष्टिकोणले आकर्षक २ लेनको सिग्नेचर पुल निर्माण गर्न लागेको हो । ‘काठमाडौंको मौलिकता झल्कने गरि सिग्नेचर पुलको डिजाइन भैरहेको छ, टेकु र कालीमाटीको इतिहास समेटिएको सिग्नेचर पुल निर्माण हुनेछ’, सडक विभागको पुल महाशाखका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले विकासन्युजसँग भने । टेकु र कालिमाटी जोड्ने मोटरेबल पुलकै नजिक सिग्नेचर पुलको निर्माण गर्न लागिएको हो । सो पुलको डिजाइन तयार भैइरहेको छ । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण हुनेछन् । ‘पुलहरु पर्यटकिय आकर्षणका हुनेछन्, पुलहरु गाडी गुडाउन मात्रै होइन, रम्न, रमाउन पनि उपयोग हुन्छन भन्ने सन्देश दिन सिग्नेचर पुल बनाउन लागिएको हो’, शाक्यले भने । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ ।
केरूङ–काठमाडौं रेलमार्ग बनाएरै छाड्ने चिनियाँ पक्षको प्रतिवद्धता, अगष्टभित्र अध्ययन रिपोर्ट तयार गर्ने सहमति
काठमाडौं । केरूङ–काठमाण्डौ रेलमार्ग निर्माण कार्य निकै जटिल भए पनि बनाएरै छाड्ने प्रतिवद्धता चिनियाँ पक्षले व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारीको नेतृत्वमा चीन गएको नेपाली टोलीसँग चीनले यस्तो प्रतिवद्धता व्यक्त गरेको भ्रमण टोलीमा सहभागी मध्ये एक रेल विभागका सिनियिर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताएका छन् । भ्रमणका क्रममा रेल मार्गको बारेमा चिनियाँ पक्षले तत्काल अध्ययन थाल्ने र आगामी अगष्टभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने विषयमा दुई देशबीच सहमति भएको उनले विकासन्युजलार्इ बताए । केरूङ–काठमाण्डौ रेलमार्ग बनाउने विषयलाई दुबै देशले उच्च प्राथमिकता दिएको अधिकारीहरुले बताउँदै आएका छन् । यस विषयमा अध्ययन र छलफल गर्न दुई देशबीच राजनीतिक तथा प्राविधिक दुबै तहमा पटक पटक छलफल तथा अध्ययन भ्रमण भईराखेको छ । गत शनिबार मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यिय टोली चीन गएको हो । टोलीमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राबिधिक तथा रेल विभागका कर्मचारी समेत सहभागी रहेका छन् । २०७४ भदौ अन्तिम साता तत्कालिन परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे सहमति भएको थियो । कात्तिक अन्तिम साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेर भौतिक पुर्वाधार मन्त्रालयसँग माइन्युटमा हस्ताक्षर गरेको थियो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्खरै सम्पन्न गरेको चीन भ्रमणका क्रममा पनि सो रेलमार्ग निर्माणबारे छलफल भएको थियो । मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन आग्रह गरेका थिए भने चीनले डिपिआरसम्म निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।