ठुला आयोजनाको काम समयमै सक्न प्रधानमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बन्ने

काठमाडौं । ठुला आयोजना कार्यन्वयनमा समस्या देखिएपछि यसको तत्काल समाधान गर्न प्रधानमन्त्रीको संयोजकत्वमा आयोजना कार्यन्यन निर्देशक समिति गठन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ठुला आयोजना समयमा सक्न ठुला चुनौती देखिएपछि प्रधानमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बन्न लागेको बताए । सरकारले निर्माण थालेको अधिकाँश विशेष गरी राष्ट्रिय गौरवका आयोजनाको काम सुस्त गतिमा अघि बढेपछि यस्तो अवधारणा ल्याइएको हो । ठुलो आयोजना कार्यन्वयनमा समस्या आएपछि सरकारको पुँजीगत खर्च पनि हुन सकेको छैन । अर्थमन्त्री डा. खतिवडाले बजेटमा ठुला आयोजना समयमै सम्पन्न गर्नका लागि छुट्टै ऐन तर्जुमा गरिने भएको छ । यस्तै छानिएका आयोजनाको अनुमानित लागत तेस्रो पक्षबाट मूल्याँकन गर्ने प्रणालीको विकासका साथै आयोजनाको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्नेलाई कारवाही गर्ने भएको छ । यस्तै ठेकेदारलाई दिइने मोविलाइजेसन पेश्की घटाउन सार्वजनिक खरिद ऐन संशोधन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए । सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई जिम्मेबार बनाइने भएको छ । पुँजीगत खर्च बढाउन सरकारले अर्थ मन्त्रालयमा रहेको मन्त्रालयगत बजेट सुचना प्रणालीबाट प्राप्त हुने कार्यक्रमलाई स्वीकृत र खर्चको अख्तियारी मानेर सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यलयबाट बजेट निकासाको व्यवस्था गरिएको छ ।

काभ्रेको नागिडाडाँमा आन्तरिक विमानस्थल बनाइने

काठमाडौं । सरकारले काभ्रेको नागीडाँडामा वनेपा आन्तरिक विमानस्थल निमार्ण गर्ने भएको छ । विमानस्थल निर्माणका लागि आगामी वर्षदेखि गुरुयोजना तयारी हुने भएको छ ।

चुरेको मदन भण्डारी लोकमार्गलाई ४ अर्ब ५० करोड

काठमाडौं । सरकारले चुरे क्षेत्रमा निर्माण हुने मदन भण्डारी लोकमार्गका लागि ४ अर्ब ५० करोड रुपैंयाँ विनियोजन गरेको छ । १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्गले इलामको मेचीनगरदेखि डढेलधुरासम्मको चुरे क्षेत्रलाई समेट्ने छ । धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेची देखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।