क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप
पोखरा । नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो । विमानस्थलको निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु यहाँ विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै खेद पनि प्रकट गरेको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पार्टी सभापति कृष्ण केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलका सम्बन्धमा दिएका अभिव्यक्तिले विमानस्थल निर्माणमा चलखेल र कमिसनको खेल त होइन ? भन्ने गम्भीर आशंका उत्पन्न गराएको बताएका छन्। ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले उक्त विमानस्थललाई यस प्रदेशको समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको बताउँदै सन् २०२१ सम्म विमानस्थल निर्माण गराउने कुरामा प्रदेश सरकार लाग्ने विश्वास दिलाएका छन् । विमानस्थल निर्माण हुन नदिने षड्यन्त्रस्वरुप विज्ञ समूहबाट आएको प्रतिवेदनको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले पनि आजै मुख्य मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो । रासस
अवरुद्ध उत्तर-दक्षिण लोकमार्ग निर्माणकाे काम पुनः शुरु, ३६ करोडको लागत
ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार एलाइट कम्पनी र सडक आयोजनाका प्रतिनिधिबीच दुई दिनसम्म चलेको छलफलपछि निर्माण शुरु गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चलेको छलफलपछि लोकमार्गलाई बस्ती हुँदै अघि बढाउने सहमति बनेपछि निर्माण शुरु भएको होे । यसअघि बस्तीको दायाँतर्फको माथिल्लो भागबाट निर्माण अघि बढाइएको थियो । आयोजनाको निर्माण लेलेपमा पुगेपछि निर्माण पक्षले बस्तीबाट नै अघि बढाउने तयारी गरेका समयमा भने बस्ती जोगाइदिन भन्दै निवेदन गरेका थिए । सोही समयमा पनि छलफल गरी बस्तीको माथिल्लो भागबाट बाटो लैजाने सहमति भएको थियो । सहमतिअनुसार नै बाटो सर्वेक्षण गरी निर्माण शुरु हुन थालेपछि पुनः बस्तीबाटै लैजानु पर्ने माग राखी स्थानीयवासीले अवरोध गरेका थिए । सो क्षेत्रमा तीनवटा मेसिन लगाएर निर्माणको कार्य तीव्र बनाइएको छ । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा मेसिन लगाएर काम अघि बढाइरहेको हो । एलाइटले तापेथोकदेखि ओलाङ्चुङ्गोलासम्मको मार्ग खोल्ने जिम्मा पाएको हो । ओलाङ्चुङ्गोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ । रासस
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा
चितवन । नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ शिव खनालका अनुसार दाशढुङ्गादेखि चोर खोलासम्म न्यू टेक्निकल हाइहिमालयन जेभीलाई ६ करोड रुपैयाँमा ठेक्का दिइएको छ । चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभीलाई आठ करोड रुपैयाँमा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने कार्य गर्ने गरी जिम्मा दिइएको छ । आयोजनाका अनुसार हालसम्म हाई हिमालयले ३१ प्रतिशत र हिम सगरमाथाले ४५ प्रतिशत काम सम्पन्न गरेका छन् । हिम सगरमाथाका कन्ट्र्याक्ट म्यानेजर जीवनप्रसाद तिवारीका अनुसार दुई खण्डको गरी काम गर्नुपर्ने ३२ ठाउँमा झर्न लागेका माटाका ढिस्का, ढुङ्गा, चट्टान झार्ने काम सम्पन्न भएको छ । हाल विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङको कार्य भइरहेको छ । असार मसान्तसम्ममा काम सक्ने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका परामर्श दाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेले पहिरो रोक्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् । उनले २१५ कामदारले दैनिक काम गरिरहेकाले प्रगति राम्रो भएको बताए । बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्नका लागि गर्नुपर्ने काम गरिएको हो । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । ती जोखिममा कमी ल्याउनका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम भइरहेको छ । रासस