त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन दश महिना भित्रै पूरा हुने

नुवाकोट । निर्माणाधीन त्रिशूली-काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इ.सत्यराम ज्याख्वाले जानकारी दिए । “फाउण्डेशन बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।” ज्याख्वाले भने, “मातातीर्थस्थित केन्द्रीय प्रसारण लाइन पुर्याउन भूमिगत प्रसारण लाइनका लागि एक किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।” उनको अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न काममा तीव्र बनाइएको छ । थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । तोकिएको समयमा प्रसारण लाइन पूरा नभएमा थ्री ‘ए’ ले उत्पादन गर्ने विद्युत् खेर जाने जोखिम देखिन्छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन लि (सिडब्लुई)ले गर्दै आएको छ । यो प्रसारण लाइनमार्फत यहाँका दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली-१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी-त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना बनाइएको छ । दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ । रासस

बेनी-कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै, ३० महिनाभित्र सम्पन्न हुने

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी-जोमसोम-कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए । आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा रु पाँच करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा पाँच करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ गीता जेभीले पुल निर्माण गरिरहेको छ । त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख रुपैयाँलागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले रु तीन करोड नौ लाखमा ठेक्का लिएको छ । सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ । दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । रासस

राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनकाे निर्देशन

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४, ०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्रीपुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । नीतिगत तहकाकर्मचारी सहभागीउक्त बैठकमा मन्त्रीपुनले राष्ट्रिय गौरवकाआयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनिबाहानामाविकासकाआयोजना रोकिन नहुने बताए । उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवकाआयोजना रोकिनु भएन, बजेटको समस्याभए मन्त्रालयबाट समाधान हुन्छ ।’ मन्त्रीपुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिला सुस्ती नगर्न निर्देशन दिए । ‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ, समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’ मन्त्रीपुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिकानिर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्रीपुनलेमुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकाशकाआयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए । मन्त्रीपुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैविच समन्वय हुनुपर्नेमा जोड दिए । समितिको बसेको पहिलो बैठकमा मन्त्रीपुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे ।