नारायणगढ-मुग्लिन सडकखण्डकाे ८० प्रतिशत काम सम्पन्न
चितवन । छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुङ्गा र ढिस्को झर्ने अवस्थामा रहेका छन् । गतवर्षको वर्षात्मा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो । यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा पहिरो खसेपछि आधा घण्टा सडक आवागमन रोकिएको थियो । नारायणगढ-मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिलो चरणमा लुज मेटेरियल (झर्न लागेका ढुङ्गा, ढिस्को र माटो) झार्ने काम भइरहेको छ । अहिले दिनको समयमा सडक बन्द हुने भएकाले लुज मेटेरियल झार्ने कामलाई तीव्रता दिइएको छ । मुग्लिन नजिकै, केराबारी र चोर खोलामा झर्न लागेका ढुङ्गा, ढिस्को र माटो झार्ने काम भइरहेको छ । भित्तो कटिएका ठाउँमा मानिसले रड, गललगायतका सहाराले झर्न लागेका ढुङ्गा, ढिस्को, माटोलगायत झार्ने काम भइरहेको उनले बताए । यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदै छन् । खनालका अनुसार सडकलाई दुई भागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि १४ करोड रुपैयाँमा ठेक्का दिइएको छ । नारायणगढबाट जलबिरेसम्म एउटा प्याकेज र त्यस उता मुग्लिनसम्म अर्को प्याकेज गरी ठेक्का दिइएको उनले बताए । खनालका अनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने उनले बताए । कालीखोलाको वारिपारि गरेर तीन ठाउँ, चार किलो, मुग्लिनको मुख र सेतीदोभानमा बढी संवेदनशील देखिएको छ । पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षात्अघि नै काम सक्ने गरी काम थालिएको हो । परामर्शदाता कम्पनीले भित्तो काटिएका ठाउँको डिजाइन गरेर पठाएपछि सडक विभागले ती ठाउँमा पहिरो रोक्नका लागि काम गर्न ठेक्का दिएको हो । सडकको कूल लम्बाइ ३३.२ किलोमिटरमध्ये ३०.३ किलोमिटर पहिलो तह कालोपत्रे भइसकेको छ । लागत मूल्य बढेपछिको मूल्याङ्कनमा सडकको ८० प्रतिशत काम सम्पन्न भएको छ । सडक बने पनि पहिरो खसेमा वर्षात्मा यात्रुले दुःख पाउन सक्ने भएकाले पहिरो रोक्ने कामलाई उच्च प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । हाल ३५ जनाभन्दा बढीले काम गरिरहेको भन्दै उनले जनशक्ति थप गरी कामलाई गति दिइने बताएका छन् । रासस
पूर्वाधारमा एक करोड ५० लाख बढी लगानी, पर्यटनकाे विकासमा जाेड
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिएका छन् । उनका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ । पर्यटकलाई एकरात खैरहनीमै राख्ने योजनाका साथ पर्यटन पूर्वाधारमा लगानी बढाइएको हो । केही योजना शुरुसमेत भइसकेका छन् । “कतिपय कार्यक्रम शुरु भए, कतिपय शुरु हुन बाँकी छ, नगरप्रमुख चौधरीले भने, अब एकदिन पर्यटकको बास खैरहनीमै राख्ने गरी पर्यटकीय पूर्वाधार बनाइन्छ ।” चितवनको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र सौराहापछिकै पर्यटकीय केन्द्रका रुपमा विकास भइरहेको छ । पर्यटकले सौराहामा पाउने मनोरञ्जन लगभग सबै कुमरोजमा नै पाइने कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङ बताउँछन् । त्यसैले सौराहासँग जोडेर खैरहनीको कुमरोज, कठार लोथर र कंकालीकोटसम्मको पर्यटक पूर्वाधार विकासमा खैरहनी नगरपालिका लागेको छ । नगरपालिकाले दिएको जानकारीअनुसार पूर्वी चितवनको कंकाली क्षेत्रमा यसअघि निर्माण भएको वनभोज स्थलको स्तरोन्नति गरी पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएकोे छ । यहाँ भइरहेको संरचनालाई मर्मत सम्भार गरी आकर्षक पार्क बनाइने नगरप्रमुख चौधरीले बताए । यस्तै ५९ लाख रुपैयाँमा कंकाली सामुदायिक वनको माथि दुईवटा भ्यू टावरसमेत बनाइँदै छ । कंकाली पार्कबाट कंकालीगढी जानका लागि पर्यटकलाई आगामी वर्ष घोडा सयर गराउने योजना रहेको चौधरी बताउँछन् । कंकाली र अजिङ्गरे क्षेत्रमा आकर्षक पोखरीसमेत निर्माण गरेर डुंगा सञ्चालन गर्ने योजनासमेत खैरहनी नगरपालिकाले अघि सारेको छ । पर्यटकीय क्षेत्र कुमरोजमा अहिले पनि पर्यटकले हात्ती, जिप तथा डुंगा सफारीमा पर्यटक रमाउँदै आएका छन् । यहाँ आएका पर्यटक बाघ, गैँडा, हात्ती, चित्तललगायत संरक्षित वन्यजन्तु अवलोकन गर्न सक्छन् भने राप्ती नदीमा डुंगा सयर गरेर सुतिरहेका गोही र पानी खान आएका वन्यजन्तु सजिलै देख्न सक्छन् । कुमरोजमा अझै पर्यटकीय पूर्वाधार विकासका लागि भनेर अहिले खैरहनी नगरपालिकाले ४० रुपैयाँ लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले टावर निर्माण गरिने छ । यहाँ रहेको बोटे ताल र दराई तालको पुनःनिर्माणका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जानकारी दिएको छ । यस्तै कठारको कुचकुचे मध्यवर्ती सामुदायिक वनमा समेत पर्यटन प्रवद्र्धनका लागि जिप सफारी शुरु भइरहेको नगरप्रमुख चौधरीले बताए । अब कुमरोज, कुचकुचेर कंकालीलाई जोडेर खैरहनीको पर्यटकमा नयाँ आयाम थपिने विश्वास नगरपालिकाको छ । पूर्वाधार निर्माणपछि खैरहनीले होमस्टेको विकासमा ध्यान दिने जनाइएको छ । हाल पनि चितवनको कुमरोज, कठार क्षेत्रमा दुई दर्जन होमस्टे सञ्चालन भइसकेका छन् । बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले यहाँको होमस्टेमा पर्यटक आएर बस्ने गरेको बताएका छन्। कुमरोजमा ठूला होटल निर्माणको क्रमसमेत शुरु भएकाले पर्यटकीय गतिविधि बढ्दो रहेको कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए । उता जिप सफारी र शुरु भएपछि कठार क्षेत्रमा समेत पर्यटकीय चहलपहल बढेको स्थानीय संरक्षणकर्मी एवं नेचर गाइड रामेश्वर चौधरीले बताए । रासस
इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको लाेगो बनाउनेलाई ५० हजार पुरस्कार, भाडामा घर खोज्दै
काठमाडौं । नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले उत्कृष्ठ लोगो बनाउने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर बैंकको लोगो निर्माणका लागि आव्हान गरेको हो । बैंकले छनौट गरेको उत्कृष्ठा लोगोका डिजाइनरलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । बैंकले लोगोमा लगानी, पुर्वाधार तथा आर्थिक विकास र यसको अन्तरसम्बन्ध उजागर हुनुपर्ने जनाएको छ । त्यस्तै, बैंकले कार्यालय प्रयोजनका लागि घर भाडामा समेत आव्हान गरेको छ । बानेश्वर, पुतलीसडक, थापाथली, नक्साल, बबरमहल, लैनचौर, कमलादी वा सो क्षेत्र वरपर रहेका भवनहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ । आरसीसी ढलान गरिएको ५००० वर्गफिटमा फैलिएको भवन हुनुपर्ने पनि बैंकले जनाएको छ । इन्फास्ट्रक्चर बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईसकेको छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंकमा सरकारले २ अर्ब रुपैयाँ लगानी गर्नेछ । बाँकी बैंक तथा वित्तिय संस्था, व्यवसायीक घरना र कम्पनीहरुको लगानी रहनेछ । बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोजनामा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने बैंक स्थापनाको नेतृत्व गरिरहेका बिनोद आत्रेयले जानकारी दिए ।