मोरङ ६ मा विकासका के-के काम गर्दैछन् लालबाबु पण्डित ?

काठमाडौं । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभिपीआरधारी कर्मचारीलाई तह लगाएपछि मोरङका लालबाबु पण्डितले राष्ट्रिय राजनीतिमा उचाई प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा काँग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका पण्डित अहिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् र स्थानीय तहमा कर्मचारी खटाएर वाहवाही पाईरहेका छन् । शालिन, भद्र र इमानदार राजनीतिज्ञको छवि बनाएका मन्त्री पण्डितले यतिबेला निर्वाचन पूर्वका आफ्ना प्रतिवद्धता कार्यान्वयनमा जुटिरहेका छन् । पाँच बर्षभित्र आफ्ना सबै प्रतिवद्धता पुरा गरेर अर्काे निर्वाचनमा विकासको फेहरिस्ता बोकेर जाने योजनासहित मन्त्री पण्डितले काम अघि बढाएको उनका स्वकिय सचिव वसिम आलम बताउँछन् । पण्डितको अगुवाईमा मोरङ क्षेत्र नम्बर ६ ले विकास निर्माणमा फड्को मार्दै गरेको दावी पनि आलमले गरे । पण्डितले बिराटनगर पुष्पलाल चोकदेखि बुढिगङगा गाउँपालिकाको कोहलपुर हुँदै गछियाँसम्म पुग्ने २२ किलोमिटर सडक चाँडै शिलान्यास गर्दैछन् । बुढिगङगाकै निमुवादेखि सरोचिया महेन्द्र मोरंङ क्याम्पस पछाडीबाट बग्ने पुरै नहरको सडकलाई कालोपत्रे गर्ने योजना पनि एक महिना भित्र शिलान्यस हुनेछ । समग्र बिराटनगरको दृष्यावलोकन गर्न मिल्ने भ्यु टावर निर्माण गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । पण्डितले निर्वाचनका दौरान भ्यु टावर निर्माणलाई उच्च प्राथमिकता दिने बताएका थिए । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ को फोकल्याण्ड टापुमा झोलुङगे पुल निर्माणको काम अघि बढिसकेको छ । पुलले टापुका नागरिकलाई बर्षायाममा हुने डुबानबाट मुक्त गराउनेछ । बुढिगङगाको सखुवाटोकीमा पनि झोलुंगे पुल निर्माणको काम सुरु भैसकेको छ । यसले बुढीगंगा र सुनसरीको दुहवीलाई जोड्नेछ । सुन्दरहरैँचा वडा नम्बर ३ स्थीत लोचनी सडक खण्ड अन्तर्गत रहेको पुलदेखि पश्चिम गछिया खोलामा तटबन्ध निर्माणको काम पनि सुरु भएको छ । सुन्दरहरैँचा ४ कै सरिगुवा टोल पश्चिम बुढिगङगा खोलामा पनि तटबन्ध निर्माण आरम्भ भैसकेको छ । सुन्दरहरैँचा ५ स्थीत फोकल्याण्ड टापुमा तटबन्धको काम पनि आरम्भ भैसकेको छ । सुन्दरहरैँचा ६ स्थीत स्कुल डाँडा टोल पुर्व पनि तटबन्ध निर्माण सुरु भएको छ । बुढीगंगा वडा नम्बर २ स्थीत मुस्लिम टोल उत्तरमा बाँध निर्माण सुरु भएको छ । मन्त्रि पण्डितले केहि दिन अघि मात्रै बिभिन्न विद्यालयका ३१८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई २ जोर कपडा, जुत्ता, ब्याग, कापी कलम लगायतका समाग्री वितरण गरिसकेका छन् । त्यस बाहेक दृष्टि बिहिनहरुलाई स्टिक वितरण भैसकेको छ भने ६० जना अपाङगहरुलाई ह्विल चियर निर्माणको काम सुरु भएको छ । सुन्दरहरैँचास्थित शेषनारायण धाम क्षेत्रमा पक्की पुलको निर्माण पनि आरम्भ हुँदैछ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री पण्डितले आगामी पाँच बर्षभित्र मोरङ क्षेत्र नम्बर ६ ले मुहार फेर्ने दावी गर्दै आएका छन् । संघिय सरकारको मन्त्रीका रुपमा देशभरका नागरिकको काम गर्नुका साथै उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिक सामु गरिएको प्रतिवद्धताहरु पुरा गर्न कुनै कसर बाँकी नराख्ने आलमले बताए ।

हरिनारायण रौनियारले भनेः पप्पु कन्स्ट्रक्सन छाडेको एक बर्ष भैसक्यो

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू विगत एक वर्षदेखि पप्पु कन्सट्रक्शनमा संलग्ननरहेको जनाउँदै आफूलाई उक्त संस्थासँग जोडेर अहिले नियोजित रुपमा बद्नाम र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सांसद रौनियराले आफू सम्पूर्ण व्यवसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएकोले अहिले पनि पप्पु कन्स्ट्रक्सन प्रालिसँग जोडेर पटक–पटक आफ्नो जोडेकोमा गम्भिर आपत्ति जनाएकाहुन् । उनले भने,‘म त विगत एक वर्षदेखि यो प्रालीमा छैन, म त अब पूर्णकालिन राजनीतिमा होमिएको छु, आफ्नो ३५ वर्षे व्यवसायिक अनुभवलाई अब राजनीतिको माध्यमबाट देशको सेवा गर्न आएको छु, अहिले विभिन्न पेशा तथा व्यवसायमा लामो समयसम्म अनुभव हाँसिल गरेका साथीहरु पनि सांसद बन्नुभएको छ, म पनि अब राष्ट्र सेवाकै लागि आएको हुँ ।’ जेड.आई.सी–पप्पु जे÷भी वीरगन्ज, पर्साको नाममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘यस निर्माण कम्पनीका बारेमा विगत केही दिनदेखि केही पत्रपत्रिका, टेलिभिजन र अनलाईन सञ्चार माध्यमहरुमा आईरहेका दुराग्रहपूर्ण, कपोलकल्पित र भ्रामक समाचारप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ, सत्यतथ्य नै नबुझी मनगणन्ते शैलीका यस्ता समाचारको उद्देश्य यस कम्पनीका संस्थापकएवम् संघीय संसदका सदस्य माननीय श्री हरि नारायण रौनियारज्यूको राजनीतिकचरित्र हत्या र कम्पनीलाई बद्नाम गर्ने कुत्सित उद्देश्यबाट पचिारलित कमजोर मनोविज्ञानको उपज हो भन्ने हाम्रो ठम्याई छ ।’ पत्रकार सम्मेलनमा बोल्दै सांसद रौनियारले पेशा तथा व्यवसाय गरेर राजनीतिमा आउनु पाप हो त ? भन्दै उल्टै प्रश्न समेत गरेका छन् । उनले दिनहुँ जसो सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै दोषी देखाउने काम गरेकोमा पनि आपत्ति जनाए । उनले भने,‘के निर्माण व्यवसायीहरुको मात्रै दोष छ त ? सरकारको दोष छैन त ? अहिले देशमा कुल १२ सय वटा पुलहरु निर्माणाधिन अवस्थामा छन्, तीनको लागत १२ खर्ब लाग्छ, सरकारले त्यसको २० प्रतिशत पनि पेमेन्ट दिन सकेको छैन, तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायीहरुलाई मात्रै दोष देखाउने काम गर्यो, सत्य तथ्य बुझ्नु पर्यो ।’ यद्धपी उनले आफूले यीविषयमा निर्माण व्यवसायीको हैसियतले भन्दा पनि सांसदको हैसियतमा आफ्नो गुनासो राखेको स्पष्ट पारे । आफूले कुनै गलतकाम गरेको पुष्टि भए जस्तो सुकै सजाय पनि भोग्न आफू तयार रहेको सांसद रौनियारको भनाई छ ।

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण, कहाँका जग्गा धनीले कति पाउँदैछन ?

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ । प्रतिआना दुई लाख २५ हजारदेखि रु तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा निर्धारण समितिको बैठकले प्रारम्भिक मुआब्जा निर्धारणको लागि गठन गरेको उपसमितिले पेश गरेको प्रतिवेदन, जग्गाको वर्गीकरण, नेपाल सरकार तथा अन्य निकाय समेतबाट दृष्टिगत गरी जग्गा प्राप्ती ऐन, २०३४ अनुसार सडकमा पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरेको प्रजिअ थापाले बताए । निर्धारण गरिएको जगाको मूल्य धादिङको सीमाक्षेत्र दुईपिपलको कोल्पुखोलादेखि कोल्पुटार डिलसम्म प्रतिआना दुई लाख २५ हजार, कोल्पुटार डिलदेखि वेलबास खोल्चीसम्म तीन लाख २५ हजार, बेलबास खोल्चीदेखि केउरिनी पुल रातमाटेको सीमासम्म दुई लाख ५० हजार निर्धारण गरिएको छ । रातमाटेतर्फ केउरिनीदेखि कालोढुङ्गासम्म प्रतिआना तीन लाख २५ हजार, कालो ढुङ्गादेखि कपडा उद्योगसम्म दुई लाख ५० हजार, कपडा उद्योगदेखि धन्सारसम्म तीन लाख २५ हजार, धनसार दोबाटोदेखि रातमाटेको वडा कार्यालयसम्मको चन्द्रेखोला सीमासम्म दुई लाख ५० हजार मुआब्जा निर्धारण गरिएको छ । यस्तै, चन्द्रेखोलादेखि गडौलीखोलासम्म प्रतिआना तीन लाख २५ हजार, गडौलीखोलादेखि टुँडाखोलासम्म दुई लाख ५० हजार, टुँडाखोलादेखि जिलिङको सीमास्थित ठूलोखोलासम्म तीन लाख २५ हजार निर्धारण गरिएको छ । जिलिङको ठूलोखोलादेखि कोल्डस्टोरस्थित चौतारोसम्म प्रतिआना तीन लाख २५ हजार र चौतारोदेखि देवीघाटपुलसम्म दुई लाख २५ हजार निर्धारण गरिएको प्रजिअ थापाले जानकारी दिए । उनका अनुसार ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत यसअघि नै सडकले ओगट्ने जग्गा धनीको सूची प्रकाशन भइसकेकाले आयोजनाले रकम उपलब्ध गराउने वित्तिकै धनीलाई प्रदान गरिनेछ । मुआब्जा निर्धारण समितिले दोस्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि वेत्रावती हुँदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मूल्य निर्धारण गर्ने तयारी थालेको छ । सडक क्षेत्रमा पर्ने साविक विदुर नगरपालिकाको देवीघाटदेखि बान्द्रेसम्म सडकले ओगट्ने जग्गाको क्षेत्रफल र जग्गाधनीको सूची प्रकाशन गर्न बाँकी छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न सडक ८२ किलोमिटर दूरीको निर्माणको काम जारी रहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमी सडक नेपाली सेनामार्फत निर्माण भएर गत चैत ३० गतेदेखि ट्र्याक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ । रासस