२५ लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त नगरपालिकाको वडा नं ७ कठानस्थित बेलेआँपमा निर्माण गर्न लागिएको सो हलको शिलान्यास बिहिबार नगर प्रमुख रमणबहादुर थापाले शिलान्यास गरेका थिए । रासस

कर्णालीमा लगानी सम्मेलनः पर्यटन, उर्जा र पुर्वाधारमा ध्यान

सुर्खेत । कर्णाली प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत लगानी सम्मेलनका लागि एक करोड रकम नै विनियोजन गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । उनले उपयुक्त समय निर्धारण गरेर कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने पनि बताए । कृषि, उर्जा, पर्यटन र पुर्वाधारमा बिशेष ध्यान दिएर लगानीकर्तालाई लगानीका लागि आव्हान गरिने पनि उनले जानकारी दिए । मन्त्री ज्वालाले सम्मेलन पुर्व प्रदेश सरकारले लगानीका लागि योग्य परियोजनाहरु तयार पार्ने जानकारी पनि दिए । कर्णाली प्रदेश सरकारले बिभिन्न कार्यक्रम गर्न दुई करोड ९२ लाख ५० हजार रकम छुट्याएको छ । त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा विकास साझेदारसँग लगानी सम्मेलन गर्न एक करोड रकम छुट्याएको हो । सरकारले नीति तथा कार्यक्रममा कर्णालीलाई समृद्ध बनाउन लगानीकर्तालाई आकर्षित गर्ने र त्यसका लागि लगानी सम्मेलन आयोजना गरिने उल्लेख थियो । त्यसैलाई सफल बनाउन लगानी सम्मेलन आयोजना गरिने सरकारद्वारा सार्वजनिक गरिएको रातो किताबमा उल्लेख छ । कार्यक्रममा सम्पत्ति व्यवस्थापनदेखि कर्मचारीलाई अंग्रेजी भाषा लेखन तथा वाचन तालीमसम्म समेटिएको छ । मन्त्रालयले कर्मचारीलाई अंग्रेजी भाषा लेखन तथा वाचन गर्ने तालीम दिन एक लाख रकम विनियोजन गरेको छ । कर्मचारीको सार्वजनिक उद्घोषण तथा क्षमता विकाससम्बन्धी १० वटा तालीमका लागि दुई लाख ५० हजार विनियोजन गरेको छ । आन्तरिक प्रणाली व्यवस्थापनसम्बन्धी तालीम गर्न एक लाख, आवधिक योजना तर्जुमा गोष्ठीका लागि पाँच लाख, करसम्बन्धी सचेतना अधिमुखीकरण कार्यक्रम गर्न चार लाख ५० हजार रकम छुट्याइएको छ ।

नौतले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा, बिग्रिएका काठलाई मर्मत गरिने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ । विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो दरबारमा ठूलो क्षति भई जोखिममा परेपछि उक्त सम्पदा जीर्णोद्धारका क्रममा रहेको छ । चीन सरकारको सहयोगमा करीब छ महिनादेखि विज्ञहरुको समूहले पुराना काष्ठकलाको अध्ययन तथा अनुसन्धान गर्दै बुट्टाको संग्रह गरिएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिएका छन् । आधुनिक नेपाल एकीकरण हुनुभन्दा अगाडि विशिष्ट कला र शीपले निर्माण गरिएको उक्त सम्पदाको विभिन्न भागमा चिरा परेर भत्किने स्थितिमा पुगेको थियो । पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायतले शुरु गरेको जीर्णोद्धारमा त्यस सम्पदाको प्राचीन स्वरुपमा परिवर्तन नहुने गरी केही अत्याधुनिक निर्माण वस्तुको समेत प्रयोग गरिने भएको छ । उक्त सम्पदाका काठका सम्पूर्ण सामग्री तथा त्यसका स-साना टुक्रालाई समेत पुरातात्विक महत्वको सामग्रीका रुपमा विकास गर्नका लागि संग्रहालयभित्र रहेको त्यस क्षेत्रलाई विशेष संरक्षण तथा सुरक्षित गरिएको छ । उक्त स्थानबाट निर्माण हुने नयाँ काष्ठकलाका संरचनालाई पछि दरबारमा प्रयोग गरिनेछ भने पुराना काठका टुक्रालाई पुरातात्विक महत्वको सामग्रीका रुपमा प्रदर्शनमा राखिने छ । रासस