‘रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने साँचो होइन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पारेका हुन् । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए । “ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन । आगामी हप्तासम्म निर्माणबारे निर्णय बाहिर आइसक्छ र निरन्तर रुपमा काम अघि बढ्छ”, थापाले भने । विसं २०७२ को भूकम्पको कारण क्षति पुगेको रानीपोखरी गोरखा भूकम्प झण्डै तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणले गति लिन सकेको छैन । यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकिएको छ । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गरेका थिए । कामपाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो । कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको पुनःनिर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको छ । सोसम्बन्धी विवाद समाधान गर्न गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२६) मा सम्पन्न भएको थियो र नेसं ७९० (विसं १७२७) मा शिलापत्र राखिएको थियो जसलाई नेपाल संवत् ८११ मा न्हुरपुखुर (न्हु पुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । मन्दिरका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर (वर्षमा एक दिन भाइटीका दिन मात्र खुल्ने, दिदीबहिनी नहुने दाजुभाइले दर्शन गर्नेको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । पोखरीमा देशविदेशका १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । ती मन्दिरमा उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश छन् । रासस

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै, पर्यटन र व्यापारमा टेवा पुग्ने

पाँचथर । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । उत्तरी-चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ । सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताए । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उनले भए । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । गोलभेँडा निकासी खुला एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । उनका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उनले भने, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।” भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो । केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनाका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । यहाँकोे याङ्वरक र हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यस वर्ष १३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । रासस

भेरी-बबई डाइभर्सन समयमै सकिने

बाँके । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए । उनले भने, “जिओलजिकल सर्भेमा छिन्चु नजिकैको तोली खोलामा जोखिम देखिएको थियो । त्यो क्षेत्रबाट उक्त उपकरण अघि बढेपछि अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ ।” निर्देशक बस्नेतका अनुसार दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिएको छ । सात महिनामा उक्त उपकरणले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । हालसम्म छ हजार ३५० मिटर सुरुङ खनिएको छ । सो उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भने, “आयोजना समयमै बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सम्पन्न भयो । रेडजोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो । ” रेडजोनकै कारण सुरुङ निर्माण सफल हुने नहुनेमा आशंका देखिएपछि आयोजनाले पावरहाउस र बाँध निर्माण प्रक्रिया शुरु नै नगरेको प्रशासन प्रमुख शाहीले जानकारी दिए। उनले भने, “जोखिम मानिएको काम सफल भएपछि आयोजनाले पावर हाउस र बाँध निर्माणलगायतका अन्य काम पनि धमाधम अघि बढाउने भएको छ ।” आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थाल्ने जनाएको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । आयोजना प्रमुख बस्नेतले भने, “जोखिमपूर्ण मानिएको क्षेत्र पार भइसकेको छ, अब पावरहाउस र हेडवक्र्सको काम अघि बढाउन कागजात बनाउने काम भइरहेको छ ।” विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा विद्युतगृह बनाउनका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेडजोनका रूपमा लिएका थिए । यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पुर्याउने आशंका गरिएको थियो । सात महिनाअघि परम्परागत हिसाबले बिष्फोट गर्दै सुरुङ खन्न थालिएको थियो । टिबिएमले सुरुङ खन्न थालेपछि दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो । हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ । सात महिनामा टिबिएमले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । सुरुङ निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० नेपाली मजदूर संलग्न छन् । रासस