काठमाडौं महानगरपालिकाद्वारा वडा कार्यालय भवन निर्माण शुरु, आठ करोड विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् । नयाँ परिस्थितिमा वडा कार्यालयमा धेरै जिम्मेवारी थपिएकाले अहिले भइरहेका भवन अपर्याप्त हुँदा भवन निर्माणमा लागिएको उनले बताएका हुन् । कामपाका निर्माण हुन लागेका नयाँ वडा कार्यालयको नमूना शहरी योजना आयोगले बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयका हेर्दा सुन्दर देखिने गरी नमूना बनाइएको छ । वडा कार्यालयको भवन निर्माण गरिरहे पनि कामपाले आफ्नै भवन भने अझै निर्माण गर्न सकेको छैन । पहिले कामपाको मुख्य कार्यालय रहेको बागदरबार नभत्काउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण काम अघि बढ्न सकेको थिएन । अहिले कामपाका कार्यालयहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । रासस

राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थप, साउन ४ गतेदेखि परीक्षण उत्पादन

फिदिम । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ । फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले बताए । खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० देखि १२ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो । प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले बताए । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ । तल्लो हेवा ‘माउन्टेन हाइड्रो पावर लिमिडेट’ले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यहाँ पाँच हजार ३०० मिटर दुरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातर्फको इन्टेक फिदिम नगरपालिका–११, नांगीन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत् गृह फिदिम–४ को सारन्तामा छ । रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोड बढेको आयोजनाले जनाएको छ । “नाकाबन्दी, भूकम्प, आन्तरिक विवादका कारण लागत बढेको हो”, आयोजना प्रमुख गणेश सुब्बाले बताए । विसं २०७४ असारमा सक्ने सम्झौताका साथ २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ । रासस

तीन वडा कार्यालय भवनको निर्माण सम्पन्न, प्रतिभवन रु ८० लाख खर्च

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताएका छन् । यसरी, निर्माण भएका भवनमा बैठक कक्ष, तीन कार्यालय कक्ष, शौचालय र ‘वासरुम’सहितको व्यवस्था गरिएको छ । वडा नं १, ५ र ११ का कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन भवनसमेत रु ८० लाखका दरले निर्माण भइरहेको अधिकृत थापाले बताए । चालू आवमा दुई वडा कार्यालयका भवन निर्माणका लागि रु एक करोड ६० लाख रकम नगरपालिकाको नगर परिषद्ले स्वीकृत गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सेवा पुर्याउन वडा कार्यालय भवन निर्माण गरिएको अधिकृत थापाको भनाइ छ । भवन निर्माण नभएका वडा नं २, ३, ६ र ९ का कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । वडा नं ४ र १० का कार्यालय नगरपालिकाका पुराना भवनमा सञ्चालन भइरहेका छन् । रासस