३८० वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न, २१ अर्ब २६ करोड रुपैयाँ खर्च
काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् । यी सम्पदाहरुको पुनर्निर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन् । त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने बताए। ‘सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं’–उनले भने । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६ ०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए । पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरुले पनि सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन् । भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् । पुनर्निर्माण सम्पन्न ९६ वटा विश्व सम्पदा सूचीभित्रका रहेका छन् भने २८४ विश्व सम्पदा सूचीबाहिरका हुन् । चालु आर्थिक वर्षमा १५० कार्यक्रम परेका परेको पुनर्निर्माण विभागले जानकारी गराएको छ ।
सिञ्जा राजमार्गका लागि प्रदेश सरकारले दियो ३० करोड
खलंगा । जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिएका हुन् । यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलन समेत हुने जानकारी दिए । सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माणलगायतका योजना र भइरहेका कामको बारेमा पनि उनले जानकारी दिएका छन् । डिजेल प्लान्टबाट बत्ती विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो । महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि रु २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरिद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढाथापाले जानकारी दिएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ । रासस
मेलम्चीको काम स्पीडमा अघि बढाउँछौं: खानेपानी मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताएकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई विधेयकको विषयमा आफ्नो भनाई राख्दै खानेपानी मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिईएको स्पष्ट पारिन् । ‘डिप बोरिङ गरेर जमिन मुनिबाट पानी निकाल्ने प्रवृत्ति बढेकाले मुहानहरु सुक्दै जान थालेका छन् ।’ मन्त्री मगरले संसदमा भनिन्– ‘हामीले मुहानहरुको संरक्षण गर्ने कार्यलाई विधेयकमा बढी जोड दिएका छौं । यो विधेयकमा मुहानको वरिपरी प्रदुषित गर्नेलाई नियन्त्रण गर्ने प्रावधान पनि राखेका छौं । स्रोत र मुहानलाई सफा राख्ने विषयलाई पनि समेटेका छौं ।’ मन्त्री मगरले भनिन्-‘खानेपानीको समस्या विकराल छ । विश्वको दोस्रो धनी राष्ट्र हुँदाहुँदै पनि जनता काकाकुल छन् । महिलाहरुले घण्टौं घण्टा लगाएर पानी ल्याउनु पर्ने स्थिति छ । पहाडमा मात्रै होइन तराईमा पनि खानेपानीको समस्या व्याप्त छ । जनताले तराईमा प्रशोधित पानी खान पाएका छैनन् । तराईको आर्सेनिक समस्या हल गर्न आर्सेनिक मुक्त पानी खुवाउन प्रदेश सरकारसँग समन्वय गरेर संघ सरकारले आयोजनाहरु तयार गर्दैछ ।’ देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् । उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाईरहेको स्पष्ट पारिन् । मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिंदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गति(स्पीड)मा अघि बढाउने बताइन् । ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उनले भनिन्-‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं । काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन । त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीयज्यूहरुले हेरेर बुझिदिनुपर्यो ।’