काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्पनीलाई
काठमाडौं । लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाईजिम्मेवारी दिएको हो । बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ । बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ । यातायातबारे एकीकृत सुझाव दिन निर्देशन बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, “सबै काम समयमा योजनाबद्ध रुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।” बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए । रासस
बागलुङका ३८ विद्यालयको पुनःनिर्माण शुरु
गलकोट । भूकम्पले क्षतिग्रस्त बागलुङका विद्यालयको पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष जिल्लाका ३८ विद्यालय र २५ शौचालय निर्माण गर्न शुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण गरेको प्राधिकरणले दोस्रो चरणमा यस वर्ष ३८ विद्यालय पुनःनिर्माण गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले बताएका छन् । “जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्लाका सबै क्षेत्रको पुनःनिर्माण र सबलीकरणको काम गर्दै आएको थियो”, कार्यालय प्रमुख चपाईले भने, “अहिले शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न छुट्टै कार्यालय राखिएको छ, अब हामीले यसलाई थप गति दिनेछौँ ।” विद्यालय जस्तो संवेदनशील क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भएका कारण छुट्टै कार्यालय नै सञ्चालन गरेर पुनःनिर्माण कार्य थालिएको उनको भनाइ थियो । बागलुङमा पहिलो चरणमा पुनःनिर्माण थालिएका ४० मध्ये ३४ विद्यालय बनिसकेको छ । त्यस्तै छ विद्यालय निर्माणको अन्तिम चरणमा रहेको कार्यान्वयन एकाइ शिक्षाका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिएका छन् । दोस्रो चरणमा निर्माण हुने विद्यालयमा दुई कोठे १८, तीन कोठे पाँच र चार कोठे १५ वटा भवन तथा २५ विद्यालयमा शौचालय निर्माण गरिनेछ । चार कोठे भवनका लागि रु ७० लाख, तीन कोठेलाई रु ३५ लाख र दुई कोठेलाई रु २३ लाखका दरले ३८ भवनका लागि प्राधिकरणबाट बजेट विनियोनजन भएको छ । त्यस्तै २५ शौचालय बनाउन प्रत्येकलाई रु १५ लाख विनियोजन भएको छ । विद्यालय तथा शौचालय अपाङ्गमैत्री हुने जनाइएको छ । एउटै भवनभित्र छात्रछात्राका लागि छुट्टाछुट्टै कोठाको व्यवस्थासहित २५ शौचालय निर्माण हुनेछन् । भूकम्पमा विद्यालय भवनसँगै शौचालयमा क्षति पुगेको भन्दै यस वर्षबाट त्यसको पुनःनिर्माण थालिएको कार्यालय प्रमुख चपाईले बताएका छन् । कार्यान्वयन एकाइ शिक्षाको नयाँ कार्यालयमा कार्यालय प्रमुखसहित १० जनाको दरबन्दी छ । बागलुङमा भूकम्पले क्षति पुर्याएको २१० मध्ये १८० विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माणमा सहयोग गरेको छ । रासस
हुलाकी राजमार्ग निर्माण शुरु, अनुमानित लागत ६९ करोड
तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ । लमही–कोइलावास सडक कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ११ वटा संरचना हटाइएको गढवा गाउँपालिका–६ का अध्यक्ष बालचन्द्र ठकुरी हमालले बताएका छन् । “यसअघि ती संरचनाले गर्दा सडक निर्माणको कार्य अघि बढ्न सकेको थिएन”, उनले भन, “तर अहिले यी संरचना हटाउन थालिएको छ ।” योसँगै लमही–कोइलावास सडकखण्डमा मुुआब्जा बुुझेर पनि संरचना भत्काउन आनाकानी गरेकाको संरचना भत्काइने भएको छ । निर्धारित समयसम्म अटेरी गरी संरचना नहटाएमा गाउँपालिकाले डोजर लगाएरै भए पनि हटाउने उनको भनाइ छ । यसअघि गाउँपालिकाको आह्वानमा भएको सर्वपक्षीय सर्वदलीय बैठकको सुुझावबमोजिम संरचना हटाउने निर्णय भएको उनको भनाइ छ । पुुराना व्यवसायीलाई तत्काल सडक निर्माण कार्यलाई सहज बनाउन आह्वान गरी नयाँ निर्माण गरिएका ११ वटा सटरमा आउँदो असार मसान्तसम्मका लागि स्थानान्तरण गरी गाउँपालिकाका संरचना भत्काइएको वडाध्यक्ष हमालले जानकारी दिएका छन् । साढे दुई महिनामा कालोपत्रेको काम सक्नुपर्ने भए पनि २६ महिनासम्ममा आधा काम पनि हुन सकेको छैन । इञ्जिनीयर मुकेशकुमार शाहका अनुसार ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ । मुआब्जा वितरणमा ढिलाइ हुनु, विद्युत्, टेलिकमका पोल नहटाउनुजस्ता कारणले कामले गति लिन नसकेको उनको भनाइ छ । हुलाकी राजमार्गअन्तर्गत दाङ खण्डको ३३ किलोमिटर सडक कालोपत्रे गर्न करिब रु ६९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभीले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने छ । रासस