मन्त्री पण्डितले भने- ‘चार हजार पाँच सय किमी सडक निर्माण कार्य अगाडि बढेकाे छ’
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन् । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त सडक सञ्जाल जोड्न रु आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए । मन्त्री पण्डितले नेपालको कूल बजेटको २५ प्रतिशत रकम सडक निर्माणमा खर्च हुने चर्चा गर्दै सडक निर्माणमा न्यून गुणस्तरीय निर्माण गर्नेलाई दण्डित गरिने धारणा व्यक्त गरेका छन् । उन ले यस क्षेत्रका जनतालाई सहज आवागमनका लागि विराटनगरको रानी–निमुवा नहर सडकको कालोपत्र गर्ने कार्यको आगामी हप्ता शिलान्यास गरिने जानकारी दिए । त्यस्तै मुलुकमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको छ भन्दै आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट नपाउने बताएका छन् । मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धी आई जनतालाई खुशी तुल्याउने धारणा राखेका छन् । उनले अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले समुदाय प्रहरी साझेदारीका कारण विगत दुई महिनामा यस क्षेत्रमा अपराधका घटनामा कमी आएको जानकारी दिए । बस व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, उपाध्यक्ष राजन कँडेल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेशका संयोजक सरोज श्रेष्ठले बसपार्कमा आगामी दिनमा आधुनिक स्वागतद्वार, घण्टाघर, विश्वकर्मा भगवानको मन्दिर, ज्येष्ठ नागरिक कक्ष, वाचनालय, धुलो पखाल्ने प्रविधि, आधुनिक यात्रु प्रतीक्षालय, शुद्ध र चिसो पिउने पानी उपलब्ध गराउनाका साथै छिमेकी मुलुक सरहको नमूना बसपार्क बनाउने जानकारी दिएका छन् । रासस
ताेकेकाे समय भन्दा चार महिना अगावै सकियाे स्वास्थ्यचाैकीकाे काम, करिब दुई कराेड लागतमा निर्माण सम्पन्न
सङखुवासभा । जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारबाहीमा परिरहेको बेला एक निर्माण व्यवसायी कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिनाअघि नै काम सकाएर चर्चामा आएका छन् । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङरअरुण–बरुण जेभीले सम्झौता सकिने समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेको हो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गर्न रु एक करोड ७९ लाख ५२ हजार ४३५ बजेट विनियोजन भएको थियो । उक्त भवनको ठेक्का सङ्घीय आयोजना कार्यालय विराटनगर मोरङले २०७५ असार २५ मा ठेक्का लगाएको थियो । ठेक्का अनुसार २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माण कम्पनी अरुण–बरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिनाअघि नै भवन निर्माण सम्पन्न गरेर स्वास्थ्यचौकीको नवनिर्मित भवन स्वास्थ्यचौकी तुम्लिङटारलाई हस्तान्तरण गरेका छन् । शेर्पाका अनुसार आफूले ठेक्का पाएपछि सम्झौताअनुसारको समयभित्रै काम सम्पन्न गर्दै आएको बताए । अरुण–बरुण जेभीले तेह्रथुमको कोष तथा लेखा नियन्त्रक कार्यालय भवन पनि सम्झौता समयभन्दा सात महिनाअघि नै निर्माण सम्पन्न गरेर बुझाएको थियो । सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ । जिल्ला निर्माण व्यवसायी सङ्घका महासचिवसमेत रहेका शेर्पा आफ्नो काममा इमान्दार हुनुपर्ने बताउँछन् । निर्माण व्यवसायी सङ्घ सङ्खुवासभामा ९३ वटा निर्माण कम्पनी आबद्ध छन् । त्यसमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने र १० प्रतिशत बोनस पाउने अरुण–बरुण जेभी रहेकाले प्रदेशमा सिफारिस गरेर पठाइएको निर्माण व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताएका छन् । शेर्पाले आफूलाई फेरि एकपटक समयअगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीका रूपमा प्रमाणित गरेको उनको भनाइ छ । काम नगर्नेको धरौटी जफत तुम्लिङटारस्थित डिभिजन सडक कार्यालयले सम्झौता समयभित्र काम नगर्ने सातवटा निर्माण कम्पनीलाई कारबाहीबापत जरिवाना र तीनवटा निर्माण कम्पनीको धरौटीबापतको रु तीन करोड ४१ लाख जफत गरेको छ । कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ओएसिस इञ्जिनीयर्स एन्ड बिल्डर्सलाई रु १७ लाख, कोशी एण्ड न्यौपाने निर्माण सेवालाई रु १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई रु १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई रु दुई लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई रु छ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई रु १४ लाख ५० हजार, विनायक निर्माणलाई रु १८ हजार र बज्र एण्ड सन्सलाई रु ११ हजार जरिवाना गरिएको छ । त्यसैगरी, स्वच्छन्द निर्माण सेवाको काम न्यून गुणस्तरको पाइएपछि रु दुई करोड २१ लाख, कान्छाराम एनबी जेभीको रु एक करोड नौ लाख र मना कन्स्ट्रक्सनको रु ११ लाख धरौटी जफत गरिएको छ । रासस
ट्राफिक प्रहरीले भने- ‘ढुक्क हुनुहाेस्, अब नागढुङ्गामा त्यस्तो जाम हुँदैन’
काठमाडौं । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाएका छन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ । “आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन”, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने । उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रुपमा शुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रँदा यात्रुले जामको समस्या झेल्नुपर्यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ । महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए । उक्त र्याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ । यस्तै, आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ । एकै दिन एक लाख ५६ हजार यात्रु बाहिरिए प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए । “यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ”, प्रहरी उपरीक्षक पौडेलले भने । आज घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले जामको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ । व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन् । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ । मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, “अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ ।” मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,” ढकालले भने । प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उनले बताए । “अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ”, महाशाखा प्रमुख ढकालले थपे । ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयमसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । रासस