कात्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न पुनर्निर्माण प्राधिकरणको आग्रह

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडित जनतालाई आग्रह गरेका हुन् । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कार्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् । भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनर्निर्माणमा ढिलाइ भएकोमा कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए । केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट जनता वञ्चित हुने सम्भावना रहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर)का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीन व्यक्तिले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्व सम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुननिर्माण गर्न इच्छुक नहुनु लगायतका समस्या रहेको बताएका थिए ।

सुन्दर पर्यटकीय स्थल इलामको कन्यामः प्रदुषण हटाउँदा अझै बन्नेछ आकर्षण

काठमाडौं । रमणीय र प्राकृतिक सौन्दर्यताको भरिपूर्ण उपहारको रुपमा कन्यामलाई लिने गरिएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा भएकोले पनि सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर उत्तरतर्फ लागेपछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम । इलामको उकालो सुरु हुन साथ प्राकृतिक सुन्दरताको हराभराले मन आनन्दित बनाउन सुरु गर्छ, जब जो कोही कन्याम पुग्छ, त्यहाँको दृश्यसँग मान्छे आफै‌ँ हराउँछन् । यातायातको सहज पहुँचमा रहेकाले सजिलै कन्याममा आवतजावत गर्न सकिन्छ । पहिले हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले वर्ष भरिनै पर्यटकहरुले खचाखच हुने गरेको छ । बिदा मनाउन, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका लागि आन्तरिक र वाह्य पर्यटकहरु कन्याम पुग्ने गरेका छन् । ताप्लेजुङ जिल्लाको पाथिभरा देवीको मन्दिर दर्शन गर्न जाँदा र फर्किदा बाटैमा पर्ने कन्याम सबैको रोजाइमा पर्ने गरेको छ । अरुदिनमा भन्दा बिदाको दिनहरुमा पर्यटकहरुको भीड हुने गरेको छ । वर्ष भरिनै चिसोे हावापानी, डाँडै ढाक्ने चिया बगान, देउराली डाँडा, विभिन्न जातीको परम्परागत सांस्कृतिक आकर्षणहरु हुन् । कन्याममा घोडाले पनि पर्यटकहरुलाई आकर्षित गरेको छ । कन्याममो चिया बगानमा फोटो नखिच्ने र घोडा नचढ्ने पर्यटकहरु सायदै होलान् । पर्यटकले त्यहाँको कोसेली स्वरुप चिया, छुर्पी, ललिपप र अकवरे खुर्सानी जस्ता वस्तु खरिद गरेर ल्याउने गरेका छन् । कन्याममा चिया र छुर्पी व्यापार गरिरहेकी ४० वर्षीय मुना श्रेष्ठले पर्यटकको रोजाइमा इलामको कोशेली परेकोले ब्यापार वृद्धि हुदै गएको बताइन् । कन्यामको सुन्दरतामा भुल्नेहरु धेरै छन्, तर त्यहाँ समस्या र चुनौतीहरु भने नभएको हैन । पर्यटकीय गन्तव्य भएपनि भौतिक पूर्वाधारहरुको अभाव छ । मौसम बदलि भैरहने पर्यटकीय कन्याममा घुम्दाघुम्दै पानी पर्यो भने कतै टाउको लुकाउने ठाँउ छैन । सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवतजावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ । यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ र सम्बन्धित निकायले ध्यान नदिएको देख्न सकिन्छ । सुन्दर कन्यामको चिया बगानको बीचबीचमा रक्सी, पानी र चिप्सको पाकेट लगाएतका फोहरले कन्यामलाई गिज्याइ रहेको देखिन्छ । पार्किङको सुविधा नहुनु कन्यामको अर्को समस्या हो । यस्ता समस्याहरु माथि नगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायको ध्यान दिन सकेको छैन । कन्यामको अस्तव्यस्तताका बारेमा सूर्योदय नगरपालिका मेयर रणबहादुर राईले कन्याम क्षेत्रमा फोहोर नभएको र शनिवार सरसफाइ नहुने र आइतवार मात्रै हुने भएकाले पनि आइतबार केही फोहर जस्तो देखिएको हुनसक्ने बताए । उनले भने-‘हामीले २५ जना कर्मचारीलाई सरसफाइमा खटाएका छौँ । हामीले सकेसम्म सफा राख्ने प्रयास गरेका छौँ ।’ सूर्योदय नगरपानिकाको वडानम्वर ७ का अध्यक्ष लेखनाथ खड्काले कन्यामलाई सुधार गर्दै आएको र सरसफाइलाई पनि सुधार्ने प्रयास भइरहेको बताए । उनले भने-‘हामीले हाम्रो पर्यटकीय क्षेत्रको संरक्षण गर्नै पर्छ, हामी त्यसमा लागिरहेका छौँ । बिस्तारै कन्याम अझै आकर्षण बनाउँदै जान्छौँ ।’

१३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने तयारीमा सरकार, प्राथमिकतामा नयाँपुल–हेम्जा सुरुङमार्ग

पर्वत । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग पूरा भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिएका छन् । साविक धवलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रूपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत पाँच वर्षदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो । धवलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो । प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयसमेत बचत हुने र ओझेल परेको धवलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले बताए । दूरीका हिसाबले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । यसअघि पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि पोखराको पामेसम्म सुरुङमार्गले जोड्न प्रस्ताव गरिएको थियो । अहिले सम्भाव्यता अध्ययन गर्न थालिएको नयाँपुल–हेम्जाको दूरी झण्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि आठदेखि १० किलोमिटरको दूरीमा जोडिने अनुमान गरिएको छ । उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले भारत र चीनको व्यापारिक रुटको रूपमा काम भइरहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटक भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको सङ्घका अध्यक्ष शर्माको भनाइ छ । मन्त्रालयले यो वर्ष पोखरा–बागलुङ सडकमा पर्ने हेम्जा–नयाँपुल सुरुङमार्गसँगै टोखा–छहरे–गुर्जे भन्ज्याङ, कोटेश्वर–जडीबुटी, खुर्कोट–चियावारी, सिन्धुली, कैलाली खुटिया–बिपीनगर–दिपायल खण्ड, थानकोट–चित्लाङ, गोदावरी, ललितपुर–मानेचौर, काभ्रे, नयाँ बनेश्वरमा अण्डरपास, कुलेखानी–भीमफेदी, बुटवल–सिद्धबाबा, दोलखाको लामाबजार, बुटबल–नारायणगढको दाउन्ने खण्ड, बेत्रावती–घट्टेखोला, स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको अध्ययन गर्ने भएको छ । रासस